| मङ्लबार, जेष्ठ ११, २०८३

गण्डकी प्रदेशमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी

गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।

कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्र्देशनालयले गत वर्ष पुष १६ गतेदेखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ ।

डेङ्गु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्ने लगायतका लक्षणहरु यसमा देखिन्छन् ।

डेङ्गुको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन ।स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत लक्षण देखिने भएकाले यसबाट जोगिन घरबाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्