
आरुघाटमा कुकुरले चितुवा मार्यो
गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा भेटिएको छ । सडक छेउमा आईतवार मृत अवस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले बताए ।
अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको हुन सक्ने डिभिजन बन कार्यालयले जनाएको छ । जङ्गल नजीकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितुवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुन सक्ने बन डिभिजनका कर्मचारीको अनुमान छ ।
चार वयस्क कुकुर मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको उनले बताए । वन कार्यालयको टोलीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी सब डिभिजन वन कार्यालय घ्याम्पेसाल परिसरमा व्यवस्थापन गरिएको सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिए ।




