
चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा
चितवनमा निषेधाज्ञाको समय एक हप्ता थप गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय शुक्रबार राती १२ बजे सकिदैछ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को (क) बमोजिम भदौ १९ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
दैनिक केही घण्टा मात्रै भए पनि सरकारी कार्यालय संचालन गर्ने प्रशासनले तयारी गरेको छ । अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइने भएको छ ।
निशेधाज्ञा अवधिभर लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सन्चालन गर्न पाइने प्रजिअ भट्टराईले बताए ।




