| आइतवार, कार्तिक २२, २०८३

एम्बुलेन्स तथा अन्य सवारी आवागमनमा थप कडाइ गरिने

 

लकडाउनका बेला पनि आफूखुशी चलिरहेका एम्बुलेन्स तथा अन्य सवारी साधन आवागमनमा कडाइ गर्ने निर्णय भएको छ । गोरखा जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय कमाण्डपोष्ट र कोरोना विपद व्यवस्थापन केन्द्रको संयुक्त बैठकले अतिआवश्यक र दैनिक उपभोग्य बस्तुको आपूर्ति बाहेकका सवारी आवागमनमा थप कडाई गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘एम्बुलेन्सले बिरामीबाहेकका स्थानीय यात्रु समेत ओसारपसार गरिरहेको बुझिएकाले त्यसलाई कडाइका साथ चेकजाँच गर्ने निर्णय भएको छ’, प्रजिअ पौडेलले भने, ‘रातको समयमा अनुमति पत्रबाहेकका सवारीसाधनबाट संभावित संक्रमित आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी सम्पुर्ण चेकपोष्टमा सवारी साधन रोकी चेकजाँच गरी एम्बुलेन्स, अनुमतिपत्रबाहक र ढुवानीका साधन बाहेककालाई नियन्त्रणमा लिई कानूनी कारवाही गर्ने निर्णय भएको छ ।’

कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्बन्धमा सरकारी, गैर सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्सहरु चालक सहित जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने गरी तयारी हालतमा राख्ने व्यवस्था मिलाउन र सोको प्रगति मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई जानकारी गराउन निर्देशन दिने पनि आइतबारको बैठकले निर्णय गरेको छ ।

साथै बैठकले कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने वा बाधा व्यवधान पु¥याउने व्यक्ति वा संस्थालाई संक्रमण रोग ऐन २०२० बमोजिम तत्काल कारवाही गर्ने निर्णय भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्