
गाउँमै आधारभुत स्वास्थ्य सेवा दिन श्रीनाथकोटमा स्वास्थ्य ईकाई
दरौँदी समाचारदाताः सिरानचोक गाउँपालिका ७ सिम्लेमा सिम्ले सामुदायिक स्वास्थ्य ईकाईको बुधवार उद्घाटन भएको छ । श्रीनाथकोट स्वास्थ्य चौकीको शाखाको रुपमा ईकाई स्थापना गरिएको हो । सर्वसाधारण जनतालाई गाउँमै आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न वडा भित्र पनि बाक्लो बस्ती भएको ठाउँमा स्वास्थ्य ईकाई सञ्चालन गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । गाउँपालिका अध्यक्ष गुरुङले उक्त स्वास्थ्य ईकाईको सुभारम्भ गरेका हुन् ।
श्रीनाथकोट स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष सुरज ढकालको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य लक्ष्मी भुजेल, स्वास्थ्य संयोजक टुकमान श्रेष्ठ, वडा सदस्य कुमार गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि भिमबहादुर बराम, नेपाल कम्यूनिष्ट पार्टी जिल्ला सदस्य हेमराज गुरुङ, चन्द्रोदय माविका प्रअ भरत ढकाल, जनजागृती प्राविका प्रअ उत्तम गुरुङ, शिक्षक ईमानसिंङ गुरुङ, रेडक्रस सिरानचोक उपशाखा प्रतिनिधि कालिबहादुर खड्का, ईन्द्रबहादुर नेपाली, स्वास्थ्य चौकी ब्यवस्थापन समितिका उपाध्यक्ष रामचन्द्र ढकाल लगायतले मन्तब्य राखेका कार्यक्रम सञ्चालक एवं श्रीनाथकोट स्वास्थ्य चौकी प्रमुख विश्वनाथ पाण्डेले बताए । उक्त ईकाईबाट निशुल्क औषधी बितरण, प्राथमिक उपचार सेवा, खोप सेवा, सुरक्षित मातृत्व लगायत आधारभुत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।




