
स्वारामा तुलसीमेहेरको खानेपानी योजना निर्माण सम्पन्न
बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँरामा सातवटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन् ।
तुलसी मेहर युनेस्को क्लब गोरखाले डिएफआईडिको आर्थिक सहयोग मट म्याक डोनाल्टको ब्यबस्थापन तथा अक्सफामसँगको साझेदारीमा खानेपानी आयोजना निर्माण गरेको हो ।
निर्माण सम्पन्न आयोजना आइतबार एक कार्यक्रमका बिच उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाका प्रमुख विष्णु भट्टले क्याथली खानेपानी आयोजना, छिपुढाप खानेपानी आयोजना, चित्रे खानेपानी आयोजना, धापस्वाँरा खानेपानी आयोजना, कालीमाटी खानेपानी आयोजना, थला खानेपानी आयोजना र सुलिकोट पम्पिङ खानेपानी आयोजना सम्बन्धित उपभोक्ता समितिलाई हस्तान्तरण गरेका हुन् ।

कुल ८९ लाख ५४ हजार आठ सय ५५ रुपैयाँको लागतमा सातवटा आयोजना निर्माण सम्पन्न भएका तुलसी मेहर युनेस्को क्लबका हेमराज ढकालले जानकारी दिए । आयोजनामा स्थानीयले १६ लाख ४९ हजार ६ सय २९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । आयोजनाबाट वडा नं ३ को दुई सय ४७ घरधुरीका एक हजार तिन सय २५ जना लाभान्वित भएका उनले बताए ।
वडा अध्यक्ष शुकबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख भट्ट, उपाध्यक्ष सनमायाँ गुरुङ, तुलसी मेहयर युनेस्को क्लबका सचिव कृष्णकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




