
सिमलथुम्की र तल्लो हटियाका घरघरमै धारा
गोरखा नगरपालिका १३ देउरालीको सिमलथुम्की र तल्लो हटियाका बासिन्दाले घरघरमै धारा बनाएर खानेपानीको सुविधा पाएका छन् ।
सिमलथुम्की तल्लो हटिया खाने ेपानी आयोजना निर्माण सम्पन्न भएपछि गाउँका ५० घरमा घरैपिच्छे खानेपानीको सुविधा पुगेको हो । आयोजनाको एक कार्यक्रमका बिच पुर्व मन्त्री तथा नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले उद्घाटन गरे । नेता पाण्डेले आफ्नो सांसद विकास कोषको २७ लाख रुपैयाँ सो आयोजनाका लागि उपलब्ध गराएका थिए ।
साथै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पाँच लाख र तत्कालिन जिल्ला विकास समितिको तीनलाख रुपैयाँ गरी ३५ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको वडा अध्यक्ष हरीबहादुर खनालले बताए । छरछरे मुहानको पानी टयांकीमा संकलन गरेर पाईपमार्फत गाउँमा वितरण गरिएको उनले बताए । खानेपानी आयोजनाका लागि २५ केभी क्षमताको ट्रान्सफर्मर राखिएको छ । खानेपानी उपभोग गरेवापत उपभोक्ताले मासिक रुपमा न्युनतम दुईसय ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । पानी उपभोगका आधारमा शुल्क निर्धारण गरिएको उपभोक्ता समितिले जनाएको छ । हाल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै उपभोक्ताले धारामा पानी पाउनेछन् । सो अबधिमा आफूलाई आबश्यक पानी ट्यांकीमा संकलन गर्नुपर्ने नियम बनाइएको उपभोक्ता समितिका अध्यक्ष राजन खनालले जानकारी दिए ।
‘हाम्रो टयांकी सानो छ’ उनले भने ‘मोटरबाट पानी तानेर संकलन गर्न समस्या भयो, त्यसैले अहिले पानी खोल्ने समय तोकेका हौं । संरचना विस्तार गर्ने विषयमा छलफल भैरहेको छ।’
घर घरमा धारा बनेपछि स्थानीयलाई कुवा तथा खोल्साको पानी संगालेर बाँडेर खानुपर्ने बाध्यता हटेको छ । राती नसुतेर पानी थाप्न जानुपर्ने बाध्यता पनि हटेको उनीहरुले बताएका छन् । सिमलथुम्की तल्लो हटिया खानेपानी तथा उपभोक्ता समिति आयोजनाका अध्यक्ष राजन खनालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री पाण्डे, वडाअध्यक्ष खनाल, वडा नं. १४ का अध्यक्ष रामबहादुर खड्का, गोरखा नगरपालिकाका खेलकुद तथा सांस्कृतिक समितिका अध्यक्ष मनोजचन्द्र नराल, नेकपाका नेता कृष्ण राना, रमेश भट्ट, नेपाली कांग्रेसका भानु थापा, रामशाह मावि प्रधानाध्यापक गणेशकुमार श्रेष्ठ, साविक देउराली गाविसका पुर्व अध्यक्ष ऋषि खनाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




