
गोरखाको सबैै स्थानीय तहलाई पूर्णखोप दिगोपना कायम गरिने
गोरखाको ११ वटै स्थानिय तहलाई पुर्णखोप दिगोपना कायम गरिने भएको छ । आगामी जेठसम्ममा जिल्लाको सबै स्थानिय तहलाई पुर्णखोप दिगोपना कायम गर्नका लागि तयारी थालिएको स्वास्थ्य कार्यालयका कोल्ड चेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए । जस अन्तरगत जिल्ला तथा पालिका स्तरमा सम्बन्धित जनप्रतिनिधी तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारी र स्वंयसेवी लाई अभिमुखिकरण गरिनेछ । अभिमुखिकरण पश्चात बाल बालिकामा खोपको अबस्थाका बारेमा घर घरमा पुगेर तथ्यांक संकलन गरिने खत्रीले बताए । बैशाख महिनाभर खोप नपाएका बालबालिकाको खोजि गरी खोप लगाउने र तथ्यांक अध्यावधिक गरी गाउँ तथा नगर कार्यपालिकाले पुर्णखोप दिगोपनाको घोषणाका लागि निर्णय गरेर जेठमा पुर्ण खोप दिगोपना कायम गरिने खत्रीको भनाई छ । राष्टिूय खोप तालीका अनुसार जन्मेदेखी १५ महिना सम्मका बालबालिकाले ११ प्रकारका खोप लगाएको सुनिश्चितताका लागि पुर्णखोप दिगोपना कायम गरिने भएको हो । जिल्लामा हाल सो उमेर समुहका ८० प्रतिशत बाल बालिकाले सबै प्रकारका खोप पाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
पुर्ण खोप दिगोपना कायम गर्नका लागि पहिलो चरणमा कार्यालयले विभीन्न ६ स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा संयोजकलाई तालिम दिएको छ । कार्यालयमा आयोजित तालिममा परीवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले पुर्ण खोप सुनिश्चितताका लागि स्थानिय तहले गर्नुपर्ने गतिविधिका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, अजिरकोट गाउँपालिका र सीरानचोक गाउँपालिकाका जनप्रतिनिधी सहित सम्बन्धित कर्मचारी सहभागी थिए । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख अशोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख दिपक सुवेदी, सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
दोस्रो चरणमा पाचँ गाउँपालिकालाई केन्द्रित गरी आरुघाट गाउँ पालिका मा अभिमुखीकरण कार्यक्रम हुने भएको छ । आरुघाट, धार्चे, भिम सेन थापा, चुमनुब्री र बारपाक सुलिकोट गाउँपालिकाको लागि कार्यक्रम गरिने कोल्ड चेन निरीक्षक खत्रीले बताए ।
पालिका स्तरमा पनि जनप्रतिनिधी, महिला स्वास्थ्य स्वंयसेविका लगायतको सहभागितामा अभिमुखी करण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।




