| आइतवार, कार्तिक २२, २०८३

प्रदेश सरकारबाट गोरखाका स्थानीय तहलाई वित्तीय हस्तान्तरण

अनुपमा खनाल : गण्डकी प्रदेश सरकारले गोरखाका स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरेको छ ।
जिल्लाका एघार वटै स्थानीय तहका लागि प्रदेश सरकारले तीन करोड २७ लाख ७० हजार पाँचसय रुपैया वित्तीय हस्तान्तरण गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अन्तरगतको बजेट प्रदेश सरकारबाट गत मंसीरमा प्राप्त भएको प्रमुख कोष नियन्त्रक श्रीधर ज्ञवालीले बताए ।
‘भदौ, असोजमा नै प्रदेशले वित्तीय हस्तान्तरण गर्नुपर्ने थियो’ उनले भने ‘ढिलो गरी बजेट आएको छ । स्थानीय तहले गाउँ तथा नगर सभाबाट पारित गरेका कार्यक्रम कार्यान्वयनका लागि यो बजेट खर्च हुन्छ ।’
प्रदेश सरकारबाट धेरै बजेट पाउनेमा गोरखा नगरपालिका र पालुङटार नगरपालिका परेको छ । प्रदेशले गोरखा नगरपालिकालाई ३३ लाख ९३ हजार दुई सय ५० रुपैयाँ र पालुङटार नगरपालिकालाई ३१ लाख ८३ हजार दुई सय ५० रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । जिल्लाको बिकट तथा दुर्गम ठाउँका चुमनुब्री गाउँपालिकालाई २६ लाख ९८ हजार दुई सय ५० रुपैयाँ र धार्चे गाउँपालिकालाई २८ लाख सातहजार रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ ।
गण्डकी र आरुघाट गाउँपालिकाले बराबर रकम पाएका छन् । दुबै गाउँ पालिकाले २९ लाख ४४ हजार दुई सय ५० रुपैयाँ प्रदेश सरकारबाट पाएका हुन् ।
भीमसेन थापा गाउँपालिकालाई २९ लाख ४२ हजार रुपैयाँ र सिरानचोक गाउँपालिकालाई २९ लाख ५२ हजार रुपैयाँ प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ । जिल्लाको सहिद लखन गाउँ पालिकाले ३० लाख २८ हजार सात सय ५० रुपैयाँ, बारपाक सुलिकोट गाउँपालिकाले ३० लाख आठ हजार रुपैयाँ र अजिरकोट गाउँपालिकाले २८ लाख ६९ हजार पाचँ सय रुपैयाँ बजेट प्रदेश सरकारबाट प्राप्त गरेका छन् । अघिल्ला बर्ष संघीय सरकारबाट मात्रै बजेट पाएका स्थानीय तहले चालु आर्थिक बर्षदेखि प्रदेश सरकारबाट पनि बजेट पाउन थालेका ज्ञावलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्