| सोमवार, कार्तिक २३, २०८३

विद्यालय जागिर मात्र खाने ठाउँ हैन ः शिक्षा मन्त्री

अनुपमा खनाल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय लाई जागिर खाने ठाउँका रुपमा मात्रै नलिन शिक्षकलाई आग्रह गरेका छन् । ज्ञान हस्तान्तरण र ज्ञान निर्माणको थलो विद्यालय भएकाले जागिर खाने ठाउँका रुपमा मात्र नलिन उनले आग्रह गरका हुन् । गोरखाको जनशक्ति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा उनले शिक्षक गुणात्मक भएमात्रै सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्ने बताए । ‘पहिले तयार पारेका डायरी र नोटबुकबाट पढाएर शिक्षक बनिदैन’ उनले भने ‘विद्यार्थीहरुलाई गृहकार्य दिने र जाँच नगर्ने ब्यक्ति शिक्षक हुन सक्दैन । राजनीतिक पार्टी र टूेड युनियनका काममा ब्यस्त हुने, कक्षामा कहिले कहिले देखिने र तलब लिन विद्यालय पुग्ने ब्यक्ति कसरी शिक्षक हुन सक्छ ? त्यस्ताले काम छाड्नुहोस्, नयाँ पुस्ताले पढाउँछन् ।’ बदलिदो भुमिकालाई आत्मसात गरेर अघि बढ्न उनले निर्देशन दिएका छन् । ‘दण्ड दिएर, विद्यार्थीलाई अधिनमा लिएर पढाउने होईन’ उनले भने ‘विद्यार्थीको उमेर अबस्थाका आधारमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने रुपमा पढाउनुहोस् ।’ शिक्षालाई विकाससँग जोड्न आग्रह गर्दै उनले मावि तह उत्तिर्ण गरेका हरेक विद्यार्थी सिपयुक्त हुनुपर्ने बताएका छन् । ‘श्रमलाई सिप, सीपलाई उत्पादन र उत्पादनलाई संवृद्धिसँग जोड्नुपर्छ’ उनले भने ‘सरकारले एकपालिका एक प्राविधिक शिक्षालयको नीति लिएको छ । मावि तह पास गर्ने विद्यार्थी सीपयुक्त भएर निस्कँदा उसको परिवार, समाज र देश संवृद्ध बनाउन एउटा आधार बन्छ ।’ स्वामित्व कसले दिने भन्ने अन्यौलका कारण सामुदायिक विद्यालयहरुको गुणस्तर अघि बढ्न नसकेको भन्दै उनले शिक्षक, विद्यार्थी र अभिभावकलाई गुणस्तर सुधारका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।
सरकारले गर्न लागेको शैक्षिक सुधारका कार्यक्रमबारे चर्चा गर्दै उनले प्राविधिक शिक्षासँगै १२ कक्षासम्मको पठनपाठनलाई निशुल्क बनाउने सरकारको योजना रहेको चर्चा गरे । अपाङ र आर्थिक रुपमा विपन्न विद्यार्थीलाई प्राविधिक धारतर्फको पठनपाठन पनि निशुल्क बनाउनेबारे सरकारले गृहकार्य गरिरहेको मन्त्री पोखरेलको भनाई छ ।
देशको समग्र शैक्षिक सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर काम गर्नुपर्नेमा उनको जोड छ । ‘अहिले देशभर २३ हजार शिक्षक दरबन्दी आबश्यक छ’ उनले भने ‘ स्थानीय र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्छ । संघको मात्रै भर नपर्नुहोस ।’ फागुन २१ गतेभित्र सरकारले संघीय शिक्षा निति ल्याउने तयारी गरेको उनले जानकारी दिएका छन् । ‘अबको २५ वर्षपछिको नेपाललाई चाहिने जनशक्तिबारे अहिले सोच्नुपर्छ’ उनले भने ‘त्यस्ता उत्पादन गर्ने गरि पाठ्यक्रम, शिक्षकको क्षमता र विद्यालयको पठनपाठनमा सुधारको प्रयास हामिले थालेका छौँ ।’ भूकम्पले भत्किएका विद्यालयको पुननिर्माण डेढ वर्षभित्र सक्न मातहतका निकायलाई उनले निर्देशन दिएका छन् । मन्त्री पोखरेलले सोमबार नै मनकामना बहिरा माध्यमिक विद्यालयको निरीक्षण गर्दै सिटीईभिटीसँगको समन्वयमा प्राविधिक शिक्षा सञ्चालनका लागी पहल गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्