
महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक
दरौंदी ः गोरखा सदरमुकाममा जारी दशौं गोरखा महोत्सवको छैठौं दिन मंगलबार अहिलेसम्मकै धेरै दर्शकको सहभागिता रह्यो । मंगलबार एकै दिन १० हजार भन्दा बढि दर्शकले अबलोकन गरेका आयोजक गोरखा उद्योग वाणिज्य संघले जनाएको छ । टिकट मात्रै आठहजार चारसय १३ वटा बिक्री भएको संघका सदस्य एवम् टिकट ब्यवस्थापन सम्बन्धी उपसमितिका संयोजक प्रकाशचन्द्र श्रेष्ठले बताए । उनका अनुसार हालसम्म २२ हजार चारसय ७७ वटा टिकट बिक्री भएको छ । टिकट बिक्रीबाट मात्र संघलाई ११ लाख २२ हजार रुपियाँ आम्दानी भइसकेको उनले बताए ।
महोत्सव पुस ५ गतेबाट सुरु भएको हो ।
मंगलबार लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, पोखराका हास्य कलाकार राजेन्द्र र देवराजको प्रहसन, टीका प्रसाई र लेखराज गुरुङको आधुनिक गीत प्रस्तुति, चीजा तामाङ, प्रकाश गुरुङ, कला लम्साल र गोविन्द रिजालको लोक दोहोरी प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रम उपसमिति संयोजक भगवानबाबु मास्केले बताए ।
यस्तै गण्डकी प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता पनि चलिरहेको छ । महोत्सव अन्तर्गत बुधबार लोक तथा दोहोरी गायक पशुपति शर्मा, बबिता बानिया जेरी, हाँस्य कलाकार हर्के हवल्दार लगायतको प्रस्तुती रहने मास्केले बताए । संघले इतिहासलाई चिनाउन, वर्तमानलाई देखाउन, गोरखालीको साझा उत्सव गोरखा महोत्सव नाराका साथ महोत्सव सञ्चालन गरिरहेको छ ।




