
दसौं गोरखा महोत्सव आजदेखि
लामो तयारीपछि गोरखा सदरमुकाममा आजदेखि दसौं गोरखा महोत्सव सुरु हुदैछ ।
हरमटारीस्थित खेलकुद मैदानमा हुने महोत्सवको प्रथम राष्ट्रपतिले बिहान साँढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक गोरखा उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले जानकारी दिए ।
महोत्सवको अवसरमा यसबर्ष भने बजारमा ध्वजापताकाले नसिँगारिएको आयोजकले जनाएको छ । हालै राखिएको सिसि क्यामेरालाई असर गर्ने भएकाले ध्वजापताका नटाँगिएको श्रेष्ठले बताए । ध्वजापताकाको साँटो पोलहरुमा झण्डा राखिएको उनले बताए ।
महोत्सवको उद्घाटन सत्रमा जिल्लाको गौरव बढाउने काम गरेका दुई व्यक्ति र दुई संस्थारलाई अभिनन्दन गरिने छ । महोत्सवमा चर्चित गायक कलाकार पशुपति शर्मा, बद्री पँगेनी, राजु परियार, पृथ्वी गुरुङ, सागर गुरुङ, सुनिला गुरुङ, दीप सागर थापामगर, पप गायकहरु शिव परियार, प्रमोद खरेल, हास्यकलाकारहरु मनोज गजुरेल, राजा राजेन्द्र, बल्छीधुर्बे लगायतका ले प्रतिभा प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । इतिहासलाई चिनाउन, वर्तमानलाई देखाउन, गोरखाली हरुको उत्सव, गोरखा महोत्सव नाराका साथ आयोजित महोत्सवको जिल्ला समन्वय समिति, गोरखा नगरपालिका, नौवटा गाउँपालिका, आदिबासी जनजाति महासंघ सहयोगीको रुपमा रहेका छन् । महोत्सव आउँदो पुस १४ गते समापन हुनेछ ।




