
आँपपिपल अस्पतालमा २२ कोठे नयाँ भवन
अनुपमा खनाल : भुकम्पले भत्किएको गोरखाको आँपपिपल अस्पतालको भवन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को आर्थिक सहयोगमा निर्माण भएको छ । नवनिर्मित भवनको बुधबार एक समारोहका बीच राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।
अस्पताल विकास तथा सञ्चालन समिति र जाइकाबिच भएको सम्झौता अनुसार भुकम्पपछि पुननिर्माणका कार्यक्रम अन्तरगत ६ करोड रुपैयाँको लागतमा भवन बनेको हो । जाइका एक्सपर्ट टिमको प्राविधिक सहयोगमा २०७३ साउनदेखि अस्पतालको बहिरंग र आकस्मिक भवन निर्माण सुरु भएको थियो ।
नवनिर्मित भवन जाइकाका नेपाल प्रतिनिधि इचिबोले अस्पताल विकास तथा सञ्चालन समितिका अध्यक्ष दिपकबाबु कडेललाई हस्तान्तरण गरे ।
भवन बनेसँगै अस्पतालको सेवा प्रवाहमा सजिलो भएको अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले बताए । ‘भुकम्पयता चर्केको भवन र टहराबाट सेवा दिएका छौ’ उनले भने ‘ अब सुविधासम्पन्न भवनमा बिरामीको जाँच गर्न पाईने भएको छ । थप ब्यबस्थापन पुरा गरी करीब दुईसातामा नयाँ भवनबाट सेवा शुरु गर्ने तयारी गरेका छौ ।’ युनाइटेड मिसन टु नेपाल नामक संस्थांले २०१३ सालदेखि सञ्चालन गरेको अस्पताल २०५९ असार देखी नेपाल सरकारले स्वामित्व लिएको हो ।
अस्पतालमा हाल विशेषज्ञ सहित ५१ स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । जसमध्ये नेपाल सरकार अन्तरगत नौ र अस्पताल विकास समितिका तर्फबाट ४२ कर्मचारी कार्यरत छन् । करीब ३५ शैया रहेको अस्पतालबाट सामान्य उपचार देखी प्रयोगशाला, दन्त, फिजियोथेरापी, सामान्य तथा जटिल सल्यक्रिया लगायतका सेवा सञ्चालनमा छन् ।
दैनिक करीब सय जनाले अस्पताल बाट सेवा लिदै आएका अस्पताल का रेडियोग्राफर विशाल गिरीले जानकारी दिए । अस्पताल विकास तथा सञ्चालन समितिका अध्यक्ष दिपकबाबु कडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिूय सभाका प्रतिपक्षी दलका नेता पाण्डे, गण्डकी प्रदेशका सांसद हरीशरण आचार्य, नगरपालिकाकी उप मेयर पम्फा बसेल, आपँपिपल अस्पताल का मेडिकल डाइरेक्टर डाक्टर क्षितिजचन्द्र पौडेल लगायतले मन्तब्य राखेका थिए ।
केहि दिन अघि सो अस्पताललाई नेपाल मेड नामक सस्थांले ओपिडीका लागी करीब २० लाख रुपैया आबश्यक उपकरण उपलब्ध गराएको थियो ।




