
संरक्षण पर्खदै त्रिभुवन पुस्तकालय
शिव उप्रेती :
२००८ सालमा स्थापना भएको जिल्लाकै सबैभन्दा जेठो त्रिभुन पुस्तकालय स्याहार सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । पुस्तकालयप्रति चासो कम हुँदा गोरखा नगरपालिका ६, तीन धारेस्थित सो पुस्तकालय १५ बर्षदेखि बन्द अबस्थामा रहेको आसपासका बासिन्दाको भनाइ छ । ‘१५ बर्षअघिदेखि यो पुस्तकालय बन्दको बन्दै छ’, स्थानीय भैयालाल श्रेष्ठ भन्छन्, ‘भूकम्पले गारो भत्किएको छ । साइनबोर्ड पनि च्यातिएर र खुइलिएर गयो ।’ पुस्तकहरु पनि किराले खाएर नष्ट गरिसकेको हुनसक्ने उनको अनुमान छ ।
करिब ३० बर्ष बन्द भएपछि सो पुस्तकालय त्रिभुवन युथक्लव फर वेलफेयर नामक संस्थाले २०६० तिर सञ्चालन गर्ने प्रयास गरे पनि सफल नभएको अर्का स्थानीय पुरुषोत्तम अर्याल बताउँछन् । ‘ऐतिहासिक पुस्तकालय हो । तर पटक पटक सञ्चालन हुदै बन्द हुदै ग¥यो’, अर्यालले भने, ‘त्रिभुवन युथक्लवबाट युवाहरुले सञ्चालन गर्ने प्रयास त गरे तर एक बर्ष पनि चल्न सकेन । फेरि बन्द भयो ।’ त्यसपछि अहिलेसम्म नखुलेको उनले बताए । २०२५ सालतिर आफूहरुले पनि स्वयंसेवा गरेर केही समय सञ्चालन गरेको उनले स्मरण गरे ।
मनकामना केवलकारका सञ्चालक लक्ष्मणबाबु श्रेष्ठलगायतका टिमले २००८ सालमा पुस्तकालय स्थापना गरेका त्यतिबेलाका सदस्य भरतबाबु श्रेष्ठको भनाइ छ । ‘लक्ष्मणबाबु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, चुडानारायण किशुनबाबु श्रेष्ठ, बाबुराम श्रेष्ठको टिमले पुस्तकालय स्थापना गरेका हुन्’, उनले भने, ‘त्यतिबेला पञ्चायती शासन थियो । लाइब्रेरीमा विद्यार्थीहरु भेला भएर राजनीतिक गतिबिधि गर्छन् भनेर सरकारले बन्द गरिदियो ।’ उनका अनुसार त्रिभुवन पुस्तकालय ठूलो आँगनको पाटीमा सञ्चालित थियो । ‘सुरुमा पुस्तकालय ठूलो आँगनको बीचैमा भीमलाल, मोतीलाल श्रेष्ठले बनाएको पाटीमा थियो’, उनले भने, ‘आँगन साँगुरो भयो भनेर गुनासो आएपछि त्यतिबेलाका उत्तम केशरी बडाहाकिमले अहिले भएको ठाउँमा पाटी बनाउन लगाएर पुस्तकालय पनि सारेका हुन् ।’ श्रेष्ठका अनुसार सोही समूहको सक्रियतामा पाटेचौरमा शक्ति स्कूल पनि स्थापना भएको हो ।
बन्द रहेको पुस्तकालय फेरि २०२५ सालमा मोहननारायण अध्यक्ष रहेको समूहले सञ्चालन गरेको थियो । ‘२०२५ सालमा मोहननारायण सर अध्यक्ष, म सचिव भएको समितिले फेरि पुस्तकालय सञ्चालन ग¥यो’, श्रेष्ठले भने, ‘त्यतिबेला प्रधानमन्त्री सूर्यबहादुर थापा, राष्टिूय पञ्चायतका अध्यक्ष राजेश्वर देवकोटा, सहायक मन्त्री वेदबहादुर पन्त, तत्कालीन भारतका लागि नेपाली राजदूत राजबहादुर सिँहले पनि पुस्तकालय भ्रमण गरेका थिए ।’ उनीहरुले काठमाडौं बोलाएर अमेरिकन, ब्रिटिश, भारतीय, रस्सियन, पुस्तकालयबाट पुस्तक उपलब्ध गराउन मद्दत गरेको श्रेष्ठले बताए ।
पुस्तकालयको भवनको तल्लो तला र फर्निचर अहिले तीनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रयोग गर्दै आएको छ । पुस्तकालयको आडमा स्थानीय एक ब्यक्तिले घरको फोहरको डंगुर थुपारेका छन् ।
जीर्ण बन्दै गएको पुस्तकालय सञ्चालन गर्न स्थानीय तहले अग्रसरता लिनुपर्ने पुराना पुस्ताको सुझाव छ । ‘इतिहास बोकेको त्रिभुवन पुस्तकालय चलाउन अब स्थानीय तहले चासो देखाउनु पर्छ’, पुरुषोत्तम अर्याल भन्छन्, ‘युवा विद्यार्थीहरुको अग्रसरताको खाँचो छ ।’ अहिले बिभिन्न सहयोगी एनजीओ, आईएनजीओहरु हुन सक्ने भन्दै उनले चासो दिएर लाग्नुपर्ने सुझाव दिए ।




