| आइतवार, कार्तिक २२, २०८३

चार महिनामा विकास बजेट १६.१० प्रतिशत खर्च

चालु आर्थिक बर्षको चार महिनामा गोरखामा कुल विकास बजेटको १६.१० प्रतिशत खर्च भएको छ ।
गतबर्ष प्रक्षेपण गरे अनुसार बजेट खर्च हुन नसकेको भनेर आलोचना भइरहेका बेला यो बर्षको पहिलो चौमासिकमा सन्तोषजनक बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।
जिल्लामा चालु आर्थिक बर्षमा पुँजिगत शीर्षकमा २० अर्ब ४८ करोड ९४ लाख ८२ हजार रुपैयाँ बजेट प्राप्त भएको थियो । साउन, भदौ, असोज र कात्तिकमा कुल तीन अर्ब २९ करोड ९७ लाख २८ हजार ६ सय ४ रुपैयाँमात्र खर्च भएको कार्यालयले जनाएको छ । खर्च भएको बजेटको करीब चार प्रतिशत बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा लगायतको रकम रहेको कार्यालयको तथ्यांक छ ।
चार महिनाको अबधिमा कुल बजेटको १६.१० प्रतिशत बजेट खर्च हुनुलाई प्रमुख कोष तथा लेखा नियन्त्रक श्रीधर ज्ञवालीले भने गतबर्षको तुलनामा सन्तोषजनक नै मान्नुपर्ने बताए । गतबर्षको पहिलो चौमासिकमा जिल्लामा पुँजिगत बजेट जम्मा १.१२ प्रतिशत मात्रै खर्च भएको कार्यालयको अभिलेखमा उल्लेख छ । ‘सामान्यतया पहिलो चौमासिकमा योजना तथा कार्यक्रमका अध्ययन गर्ने, पुर्वाधार तयार पार्ने काम धेरै हुन्छ’ उनले भने ‘चालु आर्थिक बर्ष स्विकृत कार्यक्रमहरु इस्टमेट लागत अध्ययन तयारी सकेर टेन्डर खरिद प्रक्रियामा जाने क्रममा छन् । अहिले खर्चको सूचीमा देखिएका केहि योजना विगतका बर्षमा ठेक्का लागेर अहिले काम सम्पन्न गरी भुक्तानी लगेको पनि परेका छन् ।’ तर यो बर्ष १६ प्रतिशत बजेट खर्च भैसक्नुले विकास लक्षित पूर्वाधार निर्माण लगायतका कामको गति बढ्न थालेको बुझ्न सकिने प्रमुख कोष नियन्त्रक ज्ञवालीले बताए । महालेखा नियन्त्रक कार्यालय को तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा राष्ट्रिय स्तरमा ८.३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । राष्ट्रिय स्तरको बजेट खर्चकै आधारमा पनि जिल्लामा पुँजिगत खर्च बजेट कार्यान्वयनको अबस्था राम्रो रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।
जिल्लाका सरकारी कार्यालय हरुले चालु आर्थिक बर्षको बाँकी आठ महिनामा पुँजिगत बजेटको ८३.९ प्रतिशत रकम खर्च गर्नुपर्ने देखिन्छ ।
तलब भत्ता एवं प्रशासनिक काममा जाने चालु खर्च भने ३१ दशमलब ३३ प्रतिशत भएको छ । चालु खर्चका लागि ९ अर्ब ७९ करोड ८३ लाख ९९ हजार ५६२ रुपैयाँ बजेट रहेकोमा ३ अर्ब ६ करोड २ लाख ४ हजार ३८१ रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ । अघिल्लो बर्षको पहिलो चौमासिकमा १६ दशमलब १८ प्रतिशत मात्रै चालु खर्च भएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जिल्लाका ११ स्थानीय तह सहित प्रदेश मातहतका नौ र संघ अन्तरगतका २१ कार्यालयलाई बजेट निकासा दिनुका साथै उनीहरुको आर्थिक कारोबारको नियमित रेखदेख तथा निरीक्षण गर्ने लगायतका काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्