| आइतवार, कार्तिक २२, २०८३

शनिबारे हाट बजारले पायो पाच हप्तासम्म निरन्तरता

दरौंदी समाचारदाता : गोरखा र आँबुखैरेनीको सीमानामा रहेको रामशाह बजारमा सुरु भएको शनिबारे हाटले पाँचौ हप्तासम्म पनि निरन्तरता पाएको छ । कृषि उत्पादनलाई प्रवद्र्धन गर्न हाट बजार व्यबस्थापन समितिले नियमित रुपमा शनिबारे हाट बजार सञ्चालन गर्ने गरेको हो ।
बिचौलियामार्फत कृषि उत्पादन बजारमा पुग्दा उपभोक्तालाई पनि महंगो पर्ने, किसानको हातमा पनि कम मूल्य पुग्ने भएकाले किसान र उपभोक्ताको सिधै सम्पर्क गरी उत्पादनको बजार ब्यबस्था गर्न हाट बजार सञ्चालन गरिएको आयोजक समितिका अध्यक्ष होमनाथ रिमालले जानकारी दिए । हाट बजारमा काउली, आलु, साग, बोडी, बन्दा, सिमी जस्ता मौसमी तथा बेमौसमी ताजा तरकारीहरु, माछा, मासु, सिद्रा लगायतका सामग्रीहरु उपलब्ध हुदै आएका छन् । त्यस्तै हरियो मकै, फर्सी, सिस्नो, गुन्द्रुक, भटमास, मास जस्ता कृषि उत्पादनहरु पनि उपलब्ध हुने गरेका छन् ।
ग्राहकलाई ठगिन नदिन आयोजक समितिले सबै सामानको मूल्य माइकिङ गरेर सार्बजानिक गर्ने गरेको छ । ‘अहिलेसम्म ३५ वटा स्टल रहँदै आएका छन्’ आयोजक समितिका सहसचिव रामकृष्ण अर्यालले भने, ‘हामीले उपभोक्ता लाई ठगिनबाट बच्न दररेट माइकिङ गरेर जानकारी गराउँछौं ।’ कृषि सामग्रीलगायत हाटबजारमा लुगा कपडाका स्टलहरु पनि राखिने गरिएको छ । आयोजकले स्टलहरुबाट शुल्क पनि असुल गर्ने गरेको छ । कृषि उत्पादनको स्टलसंग प्रतितीन महिनाको एकसय रुपियाँ र फेन्सी लगायतका स्टलहरुसंग प्रति महिनाको एकसय रुपियाँ असुल गर्ने गरिएको सहसचिव अर्यालले बताए । मेलामा गोरखा जिल्लाको गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, पालुङटार नगरपालिकाका केही वडाहरु, तनहूँको आँबुखैरेनी गाउँपालिकाका कृषक तथा उपभोक्ताहरुले लाभ लिने गरेका छन् । स्थानीय एक कृषि सहकारीको साधारण सभामा सहभागी किसानले आफ्नो कृषि उत्पादनलाई बजारको समस्या भएको बारे जानकारी गराएपछि नयाँपुल कृषि उपज सञ्चालक समितिले हाट बजार सञ्चालन गर्ने योजना बनाएको थियो । सोही योजना अनुसार गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाको उपस्थितमा हाटबजारको सञ्चालन आरम्भ गरिएको अध्यक्ष रिमाले बताए । तराईतिर हाटबजार प्रसस्त लाग्ने भएपनि पहाडी भेगमा भने यो नयाँ अभ्यास हो । हाटबजारले निरन्तरता पाएमा कृषक र उपभोक्ता दुवै पक्षले ठगिन नपाउने विश्वास ब्यक्त गरिएको छ । सो हाट बजार सफल भएमा अन्यत्र पनि यसको अनुकरण गरिने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्