
गोरखाको तातोपानी नामेट हुने अबस्थामा
दरौंदी समाचारदाता
संरक्षण र मर्मत सम्भार पर्खदा पर्खदै गोरखाको तातोपानीको स्रोत नै नष्ट हुने अबस्थामा पुगेको छ । नेपाली सेनाले निर्माण गर्न लागेको सडकका कारण धार्चे ३ स्थित तातोपानीका तीनवटा धारा तथा नवनिर्मित कुण्ड बिस्थापित हुन लागेको हो ।
सडकको क्षेत्रभित्र पर्ने भएकाले तातोपानीको धारा र कुण्ड बिस्थापित हुने गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले जानकारी दिइन् । ‘तातोपानीको धारा र हालै बनाइएको कुण्ड सडक क्षेत्रभित्र पर्ने रहेछ’, गुरुङले भनिन्, ‘तातोपानी धारा आसपासमा भएका घरहरु र तातोपानीको धारा, कुण्ड सबै चाहेर पनि जोगाउन नसकिने भयो ।’ एकातिर ठूलो पहरा र अर्कोतर्फ बुढीगण्डकी नदी पर्ने भएकाले तातोपानी छलेर सडक निर्माणका लागि बिकल्प दिन नसकिएको उनको भनाइ छ ।
स्रोत संरक्षणको अभावमा तातोपानीको तीनमध्य एउटा धारा गतबर्ष सुकिसकेको स्थानीय रनबहादुर गुरुङ बताउँछन् ।
‘तातोपानीको स्रोत ठूलो छ’, गुरुङ भन्छन्, ‘तातोपानीको तीनवटा धारा थियो । एउटा त सुकिसक्यो । तर यसलाई कसरी संरक्षण गर्ने, कसरी व्यबस्थित गर्ने भनेर योजना छैन ।’ उनका अनुसार तीनवटा धारामध्य एउटा धारामा चिसो पानी र दुईवटा धारामा तातो पानी थियो । तातोपानी झर्ने एउटा धारा सुकेको स्थानीयको भनाइ छ ।
धाराबाहेक पनि सो ठाउँमा बगेर गइरहेका तातोपानीको मुहानहरु धेरै छन् । सबै पानी पहराबाट झरेर नजिकैको बुढीगण्डकी नदीमा मिसिन्छ । सबै तातो पानीलाई संकलन गरेर कुण्ड बनाउन सके पर्यटन व्यबसायमा टेवा पुग्ने हालै सो ठाउँ पुगेर फर्केका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको तर्क छ । ‘नेपालका अन्य ठाउँमा रहेका तातोपानीमा पर्यटन विकास भइरहेको छ । यहाँको तातोपानीको स्रोत अन्यत्रको भन्दा पनि धेरै देखियो’, उनी भन्छन्, ‘सबै पानीलाई एकत्रित गरी व्यबस्थित कुण्ड बनाएमा यहाँ आउने पर्यटकको संख्या वृद्धि हुनेछ ।’ तातोपानीमा प्राकृतिक एण्टिबायोटिक हुने भएकाले चर्म रोग निवारणका लागि प्रभावकारी रहेको उनको भनाइ छ ।
तातोपानी लाई व्यबस्थित गर्न गाउँपालिकाले गत आर्थिक बर्ष २० लाख रुपियाँको लागतमा कुण्ड निर्माण गरेको थियो । तर व्यबस्थित रुपले सञ्चालन भने नभएको गाउँ पालिकाका अध्यक्ष सन्तोष गुरुङको भनाइ छ । नेपाली सेनाले सडक निर्माण गर्दा तातोपानी नष्ट हुने भएपछि गाउँपालिकाले माछाखोला भन्दा पारिपट्टि रहेको अर्को तातोपानीको स्रोतलाई व्यबस्थित गर्ने योजना गाउँपालिकाका अध्यक्ष गुरुङले सुनाए । ‘क्यै गरे पनि त्यहाँ को तातोपानी जोगाउन नसकेपछि हामीले माछाखोलाभन्दा पारिपट्टिको तातोपानीलाई ब्यबस्थित रुपमा निर्माण गर्ने भएका छौं’, उनले भने । तर प्राचीनकालदेखिको तातोपानी को संरक्षण हुनुपर्ने गाउँलेको माग छ । ‘गाउँलेले तातोपानीको संरक्षण गर्नुपर्छ त भनिरहेका छन्’, सातकन्या मावि खोर्लाकी प्रअ सीता गुरुङले भनिन्, ‘रोड पनि बनाउनै प¥यो । कसरी जोगिन्छ होला, गाउँलेहरु चिन्तित छन् ।’ गाउँलेहरु घर भत्काउन तयार रहेको तर तातोपानी जोगाएर सडक बनाउनुपर्ने माग गरिरहेको उनको भनाइ छ ।




