| सोमवार, कार्तिक १६, २०८३

मनास्लु क्षेत्र चार दिनदेखि सञ्चार सम्पर्कविहिन

मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र चार दिनदेखि सञ्चार सम्पर्कविहिन भएको छ । मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका वडा नं.१, २, ४ र ५ का दर्जनौ गाउँवस्तीमा गत विहिबारदेखि मोबाइल तथा फोरजी सेवा ठप्प रहेको त्यहाँका वासिन्दाले बताएका छन् ।

मोबाइल तथा इन्टरनेट चलाउन नपाउँदा स्थानीयवासी तथा भ्रमणका क्रममा त्यहाँ पुगेका विदेशी पर्यटकलाई समस्या भएको छ । ‘जटिल भौगोलिक अवस्था रहेको हिमाली भेगमा स्थानीयवासी पनि बिरामी वा घाइते हुनसक्छन्, विदेशीहरु पनि विरामी भएर तत्काल हवाइ उद्धार गर्नुपर्ने हुनसक्छ’, वडा नं. १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘चारदिन भयो, मोबाइल पनि चलेको छैन, फोरजी पनि चलेको छैन । मोटरबाटो पनि नपुगेको ठाउँमा सञ्चार सम्पर्क पनि नचल्दा जनजीवन धेरै कष्टकर भएको छ ।’

बूढीगण्डकी बाढीले लामो समयसम्म पदमार्ग बन्द भएको सो क्षेत्रमा जाने बाटो केही दिनअघि मात्र सुचारु भएको थियो । अहिले मोबाइल तथा फोरजी इन्टरनेट सेवा नचलेको स्थानीय दावा नुर्वु लामाले जानकारी दिए । ‘बाढी पहिरो, हिमपहिरो, हिमताल विस्फोटको जोखिमले समस्यामा रहेको हाम्रो गाउँ ठाउँका बारेमा देश, विदेशमा रहेका आफन्तले चासो लिइरहनुहुन्छ । सञ्चार सम्पर्क नहुँदा उहाँहरुलाई पनि समस्या भएको छ ।’

चारवटा वडा सञ्चार सम्पर्कविहिन हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुलाई पनि कार्यसम्पादनमा समस्या भएको छ ।
वडा नं. ५ धोर्जुङ डाँडास्थित टावरमा समस्या आएका कारण त्यसभन्दा माथिका सबै टावरले काम नगरेको नेपाल टेलिकम गोरखा कार्यालयका प्रमुख सूर्यप्रसाद पाण्डेले जानकारी दिए । ‘त्यो टावर रेखदेख गर्ने स्थानीय एकजनालाई हेर्न पठाएका छौँ । भोलि त्यहाँ पुगेर के रिपोर्ट गर्नुहुन्छ, त्यही अनुसार मर्मत गर्ने टोली पठाउनुपर्ला’, उनले भने, ‘धोर्जुङडाँडा धेरै टाढा रहेकाले हेलिकोप्टरबाट जानुपर्छ । सबै व्यवस्थापन मिलाउन केही समय लाग्ला ।’

प्रतिक्रिया दिनुहोस्