
आरूघाटका इन्सपेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी
इलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक अनिल श्रेष्ठ गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी बनेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले इन्स्पेक्टर श्रेष्ठलाई असोज महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ दी मन्थ) घोषित गरेको हो ।
इन्स्पेक्टर श्रेष्ठले गत असोज २५ गते उईनगुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा आएको बाढीको जोखिमलाई मध्यनजर गरी तल्लो तटीय क्षेत्रका आम नागरिकलाई समयमै सुसूचित गराएर सम्भावित ठूलो जनधनको क्षति हुनबाट जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रदेशले सम्मान गरेको हो।
प्रदेश प्रहरी कार्यालयले जारी गरेको प्रशंसापत्र अनुसार श्रेष्ठले असोज महिनामा अवैध हातहतियार नियन्त्रण, जबरजस्ती करणी गरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्न सफल भएको साथै हिमाल आरोहणको क्रममा मृत्यु भएका विदेशी नागरिकहरुको शव उद्धारमा उल्लेख्य काम गरेको उल्लेख गरिएको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीद्वारा श्रेष्ठलाई उत्कृष्ट प्रहरी प्रशंसापत्र प्रदान गरिएको हो । इन्स्पेक्टर श्रेष्ठ आरुघाट क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सक्रिय प्रहरी अधिकारीका रुपमा परिचित छन्।




