
बूढीगण्डकी बाढीमा बेपत्ता भएकाहरु अझै फेला परेनन्
गत असोज २५ गतेको बूढीगण्डकी बाढीमा परी हराइरहेका ६ जना अहिलेसम्म फेला परेका छैनन् । बूढीगण्डकी बाढीको उद्गमस्थल उङ्गिलुङको हिमपहिरोमा पुरिएका पाँचजना र चुमनुब्री ३ एक्लेभट्टीबाट बेपत्ता भएका १ जना दुईसातासम्म नभेटिएका हुन् ।
सेराङ्गी हिमाल र चामर हिमालको बीचमा अवस्थित धुम्वाखाप्के(होजाङ)बाट झरेको हिमपहिरोपछि आएको बाढीमा परी चुमनुब्री ६ चुम्चेत गाउँका ५ जना बेपत्ता छन् । फिलिमबाट ड्याङतर्फ जाँदै गरेका लाप्राकका एकजना एक्लेभट्टीबाट बेपत्ता छन् ।
उङ्गिलुङको गोठमा बस्दै आएका भोम अजे लामा र उनका पति सोनाम लामा, सोनामकै दाजु कर्मा लामा, पेम दोर्जे र सोनाम भुटी बेपत्ता भएका हुन् । त्यस्तै धार्चे ४ लाप्राकका तेजबहादुर गुरुङ एक्लेभट्टीबाट बेपत्ता भएका उनीहरुका आफन्तले जानकारी दिएका छन् ।
भेटिने आशा नरहेपछि बेपत्ता भएकाहरुको काजकिरिया गरिसकेको परिवारजनले जानकारी दिएका छन् । ‘परबाट हेर्दा गोठ भएको ठाउँमा हिउँको ठूलो पहिरो देखिन्छ । उङ्गिलुङको हिमपहिरोमा अहिलेसम्म कोही पनि पुग्न सकेका छैनौँ’, बेपत्ता भएकाका आफन्त फुर्बु ठिलेले भने, ‘भेटिने सम्भावना नभएकाले काजकिरिया गरेका हौँ ।’ भौगोलिक कठिनाइका कारण खोज्न जान पनि नसकिएको उनको भनाइ छ । ‘बाढी र पहिरोले मान्छे हिँड्नै नमिल्ने गरी भीर काटेर लगेको छ’, उनी भन्छन्, ‘गोठ भएको ठाउँमा ठूलो पहिरोले ढाकेको छ । याक, चौँरीहरु पनि देखिएका छैनन् ।’
पहिरोमा थुनिएको खोला एक्कासी फुटेपछि आएको बाढीले खोलाको सतहबाट एकसय, दुईसय मिटर माथिको सतहसम्म बगाएको स्थानीयको भनाइ छ । गहिरो खोँचमा हेलीकोप्टरले मान्छे ओरालेर खोज्यो भने मात्र सम्भव हुने नत्र हिडेर गाउँलेहरु आउन, जान नसकिने उनीहरु बताउँछन् ।
अहिलेसम्म उनीहरुको खोजी कार्य पनि खासै भएको छैन । हराइरहेकाहरुको कि सास, कि लास पाउन पाए हुने आफन्तहरुको माग छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले हराइरहेकाहरुको अहिलेसम्म फेला पार्न नसकेको जानकारी दिएका छन् । ‘खोज्न त हामीले आफ्नो संयन्त्र प्रयोग गरी खोजिरहेका छौँ तर फेला पार्न सकेका छैनौँ’, उनले भने ।




