
बूढीगण्डकी अहिलेसम्म कालै, उङ्गिलुङमा बग्छ अझै हिउँ
बूढीगण्डकीमा विनाशकारी बाढी आएको १७ दिन बित्यो, अझै कालो पानी बग्न छाडेको छैन । बाढीका बेला बगेको कालो लेदो अहिले पनि बग्न नछाडेकाले बूढीगण्डकी अहिले पनि कालै रङमा देखिने गरेको हो ।
बर्खाका दुई महिनाबाहेक प्रायः सँधै सङ्लो र नीलो देखिने बूढीगण्डकी लामो समयदेखि कालै रङमा बगेपछि देख्नेहरु अचम्मित छन् । ‘खै किन हो, अहिलेसम्म पनि बूढीगण्डकीमा कालो पानी बग्छ’, आरुघाट गाउँपालिका ३ सोतीका अजय गुरुङ भन्छन्, ‘त्यस दिनमा बाढीले ढाकेको वल्लो किनार, पल्लो किनारको धेरै फराकिलो क्षेत्र अहिले पनि कालै लेदो देखिन्छ । किनारमात्र होइन, पानी पनि कालो बग्ने गरेको छ ।’ नदी आसपासको कालोले सँधै त्यही दिन(बाढी)को झल्को लाग्ने गरेको उनले बताए ।
सेराङ्गी हिमाल र चामर हिमालको बीचमा अवस्थित धुम्वाखाप्के(होजाङ)बाट गत असोज २५ गते झरेको हिमपहिरोपछि बूढीगण्डकीमा भीषण बाढी आएको थियो । उङ्गिलुङ थुनिएर एक्कासी आएको बाढीले स्यारखोला पनि बेलाबेला थुनिने र खोलिने भएको थियो ।
हिउँपहिरो खसेको उङ्गिलुङखोलामा अझै पनि हिउँ बग्ने गरेको त्यस आसपासका बासिन्दा बताउँछन् । स्यारखोलाको सीमानासम्म हिउँ बग्ने र बेलाबेला रङ फेर्ने गरेपछि मुहान आसपासका बासिन्दा सशंकित र त्रसित पनि हुने गरेका छन् । ‘पहिरो खसेको उङ्गिलुङमा त अहिले पनि हिउँ हटिसकेको छैन’, स्थानीय गोपाल लामा भन्छन्, ‘स्यारखोलासम्म पनि हिउँ बगिरहेको देखिन्छ । स्यार खोलाले घरीघरी रङ फेर्छ ।’
हिउँ पहिरो झरेको ठाउँमा अझै पनि अस्थिर अवस्थाको हिउँ बाँकी रहेकाले झरिरहेको हुनसक्ने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका विनोद पराजुलीले जानकारी दिए । साथै बूढीगण्डकी, स्यार तथा उङ्गिलुङ खोलाको मुहानतिर कालो माटोको सतह धेरै भएकाले कालो पानी बगेको हुनसक्ने उनको भनाइ छ ।
अमेरिकी एक अनुसन्धानसम्बन्धी संस्थाका विज्ञहरुले बूढीगण्डकी बाढीको विशेष अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन विभागका प्रमुख कार्यकारी अधिकृत धर्म उप्रेतीले जानकारी दिए । सो प्रतिवेदन सार्वजनिक भएपछि सो घटनाको विस्तृत जानकारी बाहिर आउने उनको भनाइ छ ।




