
पर्यटकले भरिन थाले मनास्लु र चुम क्षेत्र
बूढीगण्डकी बाढीपछि शून्यप्रायः बनेको मनास्लु क्षेत्रमा अहिले पर्यटकको चहलपहल बढ्न थालेको छ । एकदुई दिनयता दैनिक सय जनाभन्दा धेरै पर्यटक प्रवेश गर्न थालेका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) जगत चेकपोस्टले जनाएको छ ।
मंगलबार एकै दिनमा ११७ जना पर्यटक प्रवेश भएको चेकपोस्टका कर्मचारी लालबहादुर थापा मगरले जानकारी दिए ।
बूढीगण्डकीले बिगारेको मनास्लु पदमार्ग मर्मत भएसंगै पर्यटकको संख्या बढ्न थालेको मनास्लु प्रवेशस्थल जगतका होटल व्यवसायी गणेश कार्कीले जानकारी दिए । ‘बूढीगण्डकीको बाढीले बिगारेको बाटो मर्मत भएपछि अहिले पर्यटक आउन थालेका छन्’, उनले भने, ‘दिनमा सय जनाभन्दा धेरै पर्यटक आउने गरेका छन् । मुख्य सिजन भनेकै कार्तिक हो । मंसीरको १५ सम्म त पर्यटक आइरहन्छन् ।’
पर्यटकको चहलपहल बढेसंगै होटल व्यवसायी, रेस्टुरेण्ट, टीसप व्यवसायीहरु खुशी भएका छन् । दुई दिनअघि चुम उपत्यकाको बाटो पनि सुचारु भएको छ । चुमतर्फ पनि पर्यटक हिँड्न थालेका स्थानीय सेराप गुरुङको भनाइ छ । क्याण्टिलिभरको पुल बगाएको सर्र्दी खोलामा चुम्चेत, चुम्लिङ, लोक्पाका बासिन्दाले रातदिन काम गरेर बाटो खोलेका छन्’, उनले भने, ‘अहिले फाट्टफुट्ट पर्यटक आउन थालेका छन् ।’ पर्यटक आउन थालेपछि व्यवसायीहरु हर्षित भएको उनले बताए ।




