
दोभान–हुल्चुक जोड्ने गरी स्थानीयले बनाए काठेपुल
उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नं. १ दोभान हुल्चुक र वडा नं. ३ उहिया खोत्राङ जोड्ने बेलिब्रिज र झोलुङ्गे पुल बुढीगण्डकी नदीमा आएको बाढीले बगाएपछि स्थानीयले आवतजावत सुचारु गर्न काठेपुल बनाएका छन् ।
गत असोज २५ गते आएको बाढीले धार्चे १ र ३ जोड्ने पक्की पुल बगाएपछि आवातजावत गर्न स्थानीयले काठेपुल बनाएका हुन् । गाउँपालिकाको विपद् कोषबाट खर्च ब्यहोर्ने गरी स्थानीयले काठेपुल निर्माण गरेका हुन् । बाढीले नदी माथि रहेको दोभानखोला हाइड्रोले बनाएको बेलिबिज्र र त्यसको छेउमै रहेको झोलुङ्गे पुल दुबै बगाएपछि सो क्षेत्रका स्थानीयहरु नाकाबन्दीमा परेका थिए ।
पुल बगाएपछि हुल्चुक खोत्राङ, उहिया लगायतका बस्तीका दुईसय घरधुरी बासिन्दालाई आवतजावतमा निकै सास्ती भएको थियो । पुल नहुँदा नदी वारपार गर्न एक दिन नै घुमेर जानुपर्ने बाध्यत रहेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।स्थानीयको दुखलाई मध्यनजर गर्दै स्थानीयबासी आफै जुटेर अस्थायी काठेपुल निर्माण गरेको पालिकाका अध्यक्ष गुरुङले बताए ।
स्थानीय स्रोत साधन प्रयोग गरी निर्माण गरिएको उक्त काठेपुलबाट अहिले मानिस, चौपाया र दैनिक उपभोग्य समान ओसारपसार गर्न सहज भएको उनले बताए । ‘बाढीले पुल बगाएपछि हाम्रा जनताले धेरै दुःख पाए, तत्काल पक्की पुल बनाउन सम्भव नभए पनि हामीले स्थानीयको सहयोगमा अस्थानीय काठेपुल बनाएका हौं,’ उनले भने, ‘यसले अहिलेलाई दुईसय घरधुरीका बासिन्दालाई आवतजावत सहज बनाएको छ ।’
‘यो काठेपुल दिगो समाधान होइन, बर्खामा फेरि बाढी आयो भने जोखिम हुन्छ,’ उनले भने, ‘त्यसैले संघीय सरकारसँग हामीले स्थायी पक्की पुल निर्माण गरिदिन माग गरेका छौं ।’ स्थाानीयले तत्कालका लागि सहज भएपनि सरकारले स्थायी पुल निर्माणमा ढिलाई गर्न नहुने बताएका छन् ।




