| बुधबार, कार्तिक ११, २०८३

बाढी–पहिरोको दलदलेबाट उठ्दै बूढीगण्डकी उपत्यका

प्रतीक्षा आले ।
गत असोज २५ गते गोरखाको बूढीगण्डकी नदीमा भीषण बाढी आयो । हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि आएको बाढीले तल्लो तटिय क्षेत्रमा ठूलो क्षति पु¥यायो । जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्राप्त विवरण अनुसार बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको एकसय आठवटा घर–गोठमा क्षति पुगेको छ । यस्तै, ६ वटा झोलुङ्गे पुल, दुईवटा मोटरेबल पुल, एउटा बेलिब्रिज, यारु र सर्दीमा रहेका दुईवटा क्यान्टिलिभर पुल बाढीले बगाएको प्रशासन कार्यालयको विवरणमा उल्लेख छ ।

घटनाको १६ दिन बित्दा प्रभावित क्षेत्रका बासिन्दाहरु बाढीले दिएको घाउ निको पार्नमा चाडपर्व नभनी रातोदिन खटिएका छन् । स्थानीयवासी र गाउँपालिकाको सक्रियतामा बाढी प्रभावित क्षेत्रमा अस्थायी पुल निर्माण तथा बाटो मर्मतको काम भैरहेको छ । विगत १५ दिनदेखि बन्द अवस्थामा रहेको चुम उपत्यका जाने बाटो आइतबारदेखि अस्थायी रुपमा खुलेको छ ।

स्यार खोलामा चारवटा काठे पुल निर्माण गरेर चुम उपत्यकामा मानिस तथा खच्चड आवतजावत गर्न सक्ने बनाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । बाढीले चुमनुब्री गाउँपालिका ६ स्थित सर्दीभीरको क्यान्टिभर पुल बगाउँदा चुम उपत्यका आवतजावत ठप्प बनेको थियो । जसका कारण चुमनुब्री गाउँपालिका वडा नं ६ र ७ का गाउँबस्तीमा खाद्यान्न अभाव हुन सक्ने त्रास बढेको अध्यक्ष लामाको भनाइ छ ।

‘चुमउपत्यका जाने अर्को वैकल्पिक बाटो पनि थिएन त्यसैले, स्थानीयहरुको सक्रियतामा बाढी गएको भोलिपल्टदेखि नै बाटो सफा गर्ने र काठेपुल बनाउने काम सुरु भएको थियो’, उहाँले भन्नुभयो, ‘लगातार १५ दिनसम्म स्थानीय बासिन्दा जुटेर स्यार खोलामा चारवटा काठे पुल बनाएपछि चुमउपत्यका जाने बाटो खुलेको हो ।’

गाउँपालिकाले सेना र गोरखा सडक आयोजनासँग समन्वय गरेर अबरुद्ध रहेको बेनिघाट–आरुघाट–लार्के सडक संचालनमा ल्याउने काम समेत गरिरहेको उहाँले बताउनुभएको छ । बूढीगण्डकीको बाढीले क्षतिग्रस्त बेनिघाट, आरुघाट, लार्के सडक कालोभिरसम्म सुचारु हुने अवस्थामा पुगेको छ । गोरखा सडक योजना कार्यालयले लगातार १५ दिन काम गरेर कालोभिरसम्म सुचारु गर्न लागेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्खेतबाट दोभानसम्मको खण्ड सडक योजना कार्यालयले र दोभानबाट सल्लेरीसम्मको खण्ड नेपाली सेनाले खुलाउनका लागि काम गरिरहेका छन् ।

गोरखा सडक योजना कार्यालयले बाढी आएको भोलिपल्टदेखि नै सडक खुलाउने काम गर्न थालेको थियो । नेपाली सेनाले भने चुमनुब्रीको सल्लेरीबाट जगत बगरसम्म सडक खुलाउने प्रयास गरिरहेको छ । सो खण्डमा सडक मर्मतको काम जटिल रहेको सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।

डेढ किलोमिटर खण्डमा बाढीले थुपारेको पाँच फिटभन्दा गहिरो लेदो पन्छ्याउन अझै केही दिन लाग्ने कार्यदलका प्रमुख कर्णेल राम सागर यादवले जानकारी दिनुभयो । मान्छे, खच्चड र मोटरसाइकल भने केही दिनभित्र पाङसिङसम्म पुग्न सक्ने उहाँले बताउनुभयो । चुमनुब्री र धार्चे गाउँपालिकासंग समन्वय र सहकार्य गरी काम गरिएको सडक योजना कार्यालय र नेपाली सेनाले जनाएको छ ।

यसअघि धार्चे र चुमनुब्री गाउँपालिकाले स्थानीयवासीलाई खटाएर मान्छे हिड्न सक्ने पैदलबाटो खुलाइसकेको छ । उङ्गिलुङ पहिरोपछि आएको स्यारखोलाको बाढीले बगाएको बाटो मर्मत गरी गाउँ जोड्ने बाटो बनाउन स्थानीयबासी रातदिन खटेका छन् । बाढीले धार्चे गाउँपालिका ३ दोभानबाट वडा नं १ हुल्चुक जोड्ने बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि स्थानीयहरुले त्यहाँ काठे पुल निर्माण गरेका छन् । सोमबार मात्र त्यहाँ काठे पुल निर्माणको काम सम्पन्न गरी आवतजावत सुचारु भएको हो ।

बाढी गएको केही दिनभित्रै धार्चेका स्थानीयहरुले वडा नं ३ खोर्लाबेशीदेखि तातोपानीसम्म जाने बाटो समेत निर्माण गरेका थिए । साथै, खोर्लावेशीदेखि केरौँजासम्म विजुलीको तार टाँगेर खाद्यन्न ढुवानी गर्ने काम समेत भएको थियो । स्थानीय युवाहरुको सक्रियतामा खोर्लावेशीदेखि जगतसम्मको सडकमा बाढीले ल्याएको लेदो तथा गेग्रान हटाएर मान्छे र खच्चड हिँड्ने सक्ने बाटो समेत तयार भएको छ । तत्कालको समस्या टार्न त्यस क्षेत्रमा ड्रोनमार्फत खाद्यन्न ढुवानी गर्ने काम समेत भएको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल पनि ६ दिनमा मर्मत सम्पन्न भएको थियो । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्त रुपमा मर्मतसम्भार गरेको हो । रातदिन काम गरेर छिट्टै काम सम्पन्न गरिएको सडक योजना कार्यालयले जनाएको छ ।

सोमबारदेखि भने त्यहाँ टिपर लगायत ठुला सवारी साधनहरु समेत आवतजावत गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्