
बूढीगण्डकी बाढीका कारण बाह्रसय बढी पशुचौपाया मरे
बूढीगण्डकी बाढीले बाह्रसय ३१ पशुचौपायाको ज्यान लिएको छ । आइतबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले उक्त सङख्यामा पशुचौपायाका क्षति गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।
जिल्लाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका बाह्रसय ३१ पशुचौपाया बाढीको चपेटामा परेका अस्पताल प्रमुख डाक्टर प्रकाश अधिकारीले बताए । अधिकारीका अनुसार बाढीमा परेर नौँसय १९ कुखुरा, एकसय ७५ बाख्रा र ८१ वटा बंगुर मरेका छन् । यस्तै, ४३ वटा हाँस र ५ वटा भैँसी पनि मरेका उनले जानकारी दिए । बाढीका कारण ३४ वटा गोठ र १२ वटा बंगुरको खोर बगाएको उनको भनाई छ ।
‘पशु चौपायातर्फको अनुमानित क्षति विवरण भने आउन बाँकी छ’, उनले भने । बाढी प्रभावित उत्तरी गोरखाको चुमनुब्री, धार्चे र आरुघाटमा धेरै पशुचौपायाहरुको अद्धार समेत भएको भेटेनरी अस्पताल प्रमुख प्रकाश अधिकारी बताउँछन् । बाढी आउने सूचना पाउनसाथ धेरै पशुचौपायाहरुको उद्धार भएको उनले बताएका छन् ।
‘धेरै बंगुर, कुकुरा र बाख्राहरुको उद्धार भएको छ तर उनीहरुको गोठ बाढीले बगाउँदा त्यस क्षेत्रका पशुचौपाया अस्तव्यस्त बनेका छन्’, डाक्टर अधिकारीले भने, ‘बाढीमा परेका पशुचौपायामा पनि तनाब बढ्छ । जसका कारण उनीहरुलाई संक्रमक रोग लाग्न सक्ने जोखिम बढी हुन्छ । प्रभावित क्षेत्रमा धेरै पशुचौपाया खुल्लै छाडिएका छन्, यसले उनीहरुको रोग मानिससम्म फैलन सक्ने जोखिम बढाएको छ ।’
कार्यालयले पशुचौपायाको निगरानी र औषधी उपचारको दायरा बढाएको अधिकारीले बताए । साथै, उनले विपदका बेला पशुचौपायाको व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।




