
बाढीले अवरुद्ध आरुघाट–माछीखोला सडक मर्मत सुरु, आजसम्म खुलाउने तयारी
बूढीगण्डकी बाढीले क्षति पु¥याएको आरुघाट–माछीखोला सडकखण्ड मर्मतको काम सुरु भएको छ । पहिरोले अवरुद्ध छेपारेभीर र सोती क्षेत्रमा मेसिन लगाएर मर्मतको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
‘छेपारेभीरमा दुई वटा मेसिनले काम गरिरहेको छ,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘सोतीमा एउटा मेसिन लगाइएको छ ।’ यी दुई क्षेत्रमा सडक ‘क्लिअर’ भएसँगै माछीखोलासम्म सडक संचालन हुने उनले बताए । उनका अनुसार मंगलवारसम्म सडक संचालनमा आउने सम्भावना रहेको छ ।
आइतवारको बूढीगण्डकी बाढीसँगै आएको लेदोले यी दुई क्षेत्रको सडक पुरेको छ । लेदो हटाएसँगै सडक संचालनमा आउने बताइएको छ । ‘सडक बगाएको छैन, बाढीसँगै आएको लेदोले पुरेको हो, त्यो हटाएपछि गाडी संचालन गर्न मिल्छ,’ कार्यालय प्रमुख पुनले भने ।
यता बाढीले बगाएको गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुलमा बेलिब्रिज राख्नका सडक डिभिजन कार्यालय हेटौडाबाट सामाग्री पठाइएको छ । मंगलवारसम्म सामान आइपुग्ने बताइएको छ । बेलिब्रिज निर्माणका लागि नेपाली सेनासँग छलफल भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।




