
सहिदलखन गाउँपालिकास्तरीय विद्यार्थी तथा शिक्षक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सहिदलखन गाउँपालिकामा पालिकास्तरीय विद्यार्थी वादविवाद तथा शिक्षक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय शिक्षा दिवस २०८३ तथा संविधान दिवसको अवसरमा प्रतियोगिता सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
‘संवैधानिक अधिकारको रुपमा शिक्षा, कार्यान्वयनको अवस्था र चुनौती’ विषयक शिक्षक वक्तृत्वकला प्रतियोगितामा रामेश्वरी माविकी सीता लामिछाने प्रथम भएको पालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । यस्तै, प्रतियोगितामा जनशक्ति माविकी सिर्जना ढकाल दोस्रो र जलदेवी माविकी रुकमाया कमर तेस्रो बनेको खनालले जानकारी दिए ।
शिक्षा दिवसको अवसरमा गाउँपालिकाले विद्यार्थीहरुका लागि माध्यमिकस्तरीय ‘भौतिक विकास निर्माण : प्रकृतिको साथी कि शत्रु’ विषयक वादविवाद प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा जनशक्ति माविका अनिश पनेरु प्रथम, रामेश्वरी माविकी आकृति अंगाई द्धितिय, शहीद स्मृति माविकी रिष्ता खनाल तृतीय र हिमालय माविकी विनिशा विक सान्त्वना भएको पालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुने शिक्षक तथा विद्यार्थीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेको उनको भनाई छ ।
कार्यक्रममा सहिदलखन गाउँपालिकाले आफ्ना बालकालिका सामुदायिक विद्यालयमा अध्ययन गराउने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुलाई सम्मानपत्र वितरण गरेको थियो । छोराछोरीलाई सामुदायिक विद्यालयलाई पठाउने ११९ जना जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप सम्मानपत्र वितरण गरेको उल्लेख छ ।




