
बाढी पीडितलाई गोरखाका ११ पालिकाबाट तीन करोड रुपैयाँ राहत संकलन
भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि गोरखाका स्थानीय तहहरुले तीन करोड रुपैयाँ राहत रकम संकलन गरेका छन् ।
जिल्लाका ११ वटा पालिकाहरुले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुबाट सो राहत रकम संकलन गरेका हुन् ।
उनीहरुले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन् ।
सबैभन्दा धेरै गोरखा नगरपालिकाले ५० लाख रुपैयाँ संकलन गरेको छ । जनप्रतिनिधिहरुबाट पाँचलाख, शिक्षक, कर्मचारीहरुबाट ३१ लाख ४० हजार ५८९, नगरपालिकाले नियुक्त गरेको कर्मचारीहरुबाट ११ लाख ३२ हजार ८९० र नगरपालिकाको कोषबाट दुईलाख २६ हजार ५२१ गरी ५० लाख रुपैयाँ संकलन गरिएको नगरपालिकाका इञ्जिनियर प्रकाश ढकालले जानकारी दिए ।
त्यस्तै पालुङटार नगरपालिकाबाट ३९ लाख रुपैयाँ संकलन भएको छ । जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा नगरपालिका कोषबाट गरी सो राहत रकम संकलन गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै भीमसेनथापा गाउँपालिकाबाट ३५ लाख रुपैयाँ र सिरानचोक गाउँपालिकाले ३३ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन् ।
त्यसैगरी सहिदलखन गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ र बारपाक सुलिकोट गाउँपालिकाले २८ लाख ५९ हजार रुपैयाँ संकलन गरेका छन् । त्यस्तै अजिरकोट गाउँपालिकाले २७ लाख ६६ हजार रुपैयाँ र धार्चे गाउँपालिकाले १५ लाख रुपैयाँ राहत रकम संकलन गरेका छन् ।
त्यस्तै गण्डकी गाउँपालिकाबाट २० लाख रुपैयाँ, चुमनुब्री गाउँपालिकाबाट १२ लाख २० हजार रुपैयाँ र आरुघाट गाउँपालिकाले ११ लाख ३३ हजार रुपैयाँ राहत रकम संकलन गरेका गाउँपालिकाहरुले जनाएका छन् ।




