| शुक्रबार, अशोज १, २०८३

दरौँदी दैनिकको २९ औँ वार्षिकोत्सव : मूलधार मिडियाको भूमिका निभाउन आग्रह

गोरखाबाट प्रकाशित पहिलो समाचारमुलक पत्रिका दरौँदी दैनिकले आफ्नो २९ औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वधार मन्त्री नन्दप्रसाद न्यौपानेले दरौंदी गोरखाको सबैभन्दा जेठो पत्रिका भएकाले जिल्लाको पत्रकारिता जगतको असल नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजलाई सुसुचित र सरकारलाई सजग बनाउने हिसाबले समाचार सम्प्रेषण गर्न सुझाव दिए ।

‘सोसल मिडियाको प्रयोगले अहिले हाम्रो समाजमा थाहा नपाउने गरी द्वन्द्व बढाइरहेको छ’, उनले भने, ‘मेनस्ट्रिमका मिडियाहरुले सकरात्मक कुराहरु पनि बाहिर ल्याउन जरुरी छ ।’ सोसल मिडियाले दिनानुदिन बढाइरहेको एकआपस बीचको द्वन्द्वलाई चिर्न मेनस्ट्रिमका मिडियाहरुले सकरात्मक कुराहरु बाहिर ल्याउन जरुरी रहेको उनले बताए ।

गोरखा नगरपालिका मेयर कृष्ण राना मगरले पछिल्लो समय बढ्दो क्रममा रहेको भ्रमक समाचारको बिगबिगीलाई रोक्न मूलधारका सञ्चार माध्यम र पत्रकारहरुले मेहेनत गरेर लाग्न उनले अनुरोध गरेका छन् । ‘दरौंदी जस्तो परिपक्क सञ्चार माध्यमहरुले ३५ वर्ष अघि के थियो र अहिले कुन अवस्थामा छ भन्ने बारेमा पनि समाचार प्रकाशन प्रसारण गर्नु पर्छ’, उनले भने, ‘विगत र वर्तमानको सकारात्मक परिवर्तनबारे जनतामाझ पु¥याएनु मुलधारका मिडियाको काम हो । अहिले सामाजिक क्षेत्रमा दिलोज्यान दिनेलाई जनताले खराब मात्रै देख्ने अनि समाजमा कुनै योगदानै नभएकालाई प्रोपोगाण्डा गर्नेको जयजयकार गर्ने प्रवृत्ति हावी भएको छ । जिम्मेवार मिडियाले कुन सही, कुन गलत लेख्नुपर्छ ।’

दरौँदी प्रकाशन समूहका अध्यक्ष किशोरजंग थापाले धरासायी बनेको जिल्लाको पत्रकारितालाई सबै निकाय मिलेर संरक्षण गर्नुपर्ने बताएका छन् । प्रदेशबाट आह्वान गरिने टेन्डरका सूचनाहरु सोसल मिडियामा नभई सम्बधित जिल्लाका सञ्चारमाध्यमबाट प्रकाशन प्रशारण गराउनु पर्ने बताए ।

स्थानीय तहहरुले पनि सूचनाहरु आफ्नो वेबसाइटबाट नभई स्थानीय सञ्चार माध्यमद्वारा प्रकाशन प्रशारण गराउनु पर्नेमा उनले जोड दिए । ‘समाजमा सकारात्मक गतिविधि भएको भए सञ्चार माध्यमहरुमा सकारात्मक समाचार नै देखिन्छ । नकारात्मक क्रियाकलापहरु भएका छन् सञ्चार माध्यमहरुमा त्यही देखिन्छ’, उनले भने, ‘त्यसैले सञ्चार माध्यमले नकारात्मक समाचार धेरै संप्रेषण ग¥यो भनेर आरोप लगाउनु उचित छैन ।’

दरौँदी प्रकाशन समूहका अध्यक्ष किशोरजंग थापाको अध्यक्षता तथा गण्डकी प्रदेशका भौतिक पूर्वधार मन्त्री नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर राना, दरौँदी दैनिकका सम्पादक शिव उप्रेती, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवान बाबु मास्के, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाललगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्