| बिहिबार, अशोज १, २०८३

भोलिदेखि पालुङ्टारबाट भूमि प्रशासन सेवा सुरु

गोरखाको पालुङटार नगरपालिकामा असोज २ गतेबाट भूमि प्रशासन सेवा शुरु हुने भएको छ । भूमि प्रशासन सेवा सञ्चालका लागि सबै तयारी पूरा भएको उपमेयर वन्दना पाण्डेले जानकारी दिइन् ।

नगरपालिकाको पुरानो प्रशासकीय भवनमा भूमि प्रशासन कार्यालय सञ्चालन गर्नका लागि पूर्वाधार तयार गरिएको पाण्डेले जानकारी दिइन् । ‘भूमि प्रशासन अधिकृत र अरु पाँच जना कर्मचारीको व्यवस्था गरिसकेका छौँ’, उनले भनिन्, ‘कार्य कक्ष पनि तयार भएको छ । असोज २ गते मुख्यमन्त्रीले सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।’ भूमि प्रशासन सेवा सुरु गर्ने कार्यपालिकाको निर्णय प्रदेशबाट स्वीकृत गराइसकिएको पनि उनले बताइन् ।

पालुङ्टारबाटै भूमि प्रशासन सेवा उपलब्ध भएपछि नगरवासीले सो सेवा लिन जिल्ला सदरमुकाम जानु नपर्ने भएको छ । साथै अतिरिक्त समय र पैसाको पनि वचन हुने उनको भनाइ छ । स्थानीय तहबाट मालपोत सेवा पाएमा नगरवासीले विभिन्न प्रशासनिक झन्झट भोग्नु नपर्ने उनले बताइन् ।

सेवा सुरु भएपछि पालुङटार नगरपालिकाका ११ हजार ७२ घरधुरीका ३७ हजार ४०९ जनसंख्या लाभान्वित हुनेछन् ।
यस सेवाले नगरबासीलाई संघीयताको प्रत्याभूति गराउने पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

यसअघि गण्डकी प्रदेशमा नै पहिलो पटक तनहूँको भानु नगरपालिकाले भूमि प्रशासन सेवा केहीदिन अघिदेखि सुरु गरेको छ । पालुङ्टार त्यसपछिको दोस्रो नगरपालिका बन्न सफल भएको छ । लमजुङस्थित मध्यनेपाल नगरपालिकाले पनि छिट्टै पालिकाबाट भूमि तथा जग्गा प्रशासन सेवा सुरु गर्ने तयारी गरेको छ ।

नेपाल सरकारको २०८३ वैशाख १० गतेको निर्णयअनुसार स्थानीय तहबाटै भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्दै यस नगरपालिकाले गण्डकी प्रदेशमा दोस्रोपटक शुक्रबारबाट सेवा सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्