
गोरखामा हुलाकमार्फत ५५० जनाले लिए घरमै राहदानी
जिल्ला हुलाक कार्यालय गोरखामार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । बैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । घरमै राहदानी लिन छसय जनाले फाराम भरेकोमा हालसम्म ५५० जनाले सेवा लिइसकेको उनले जानकारी दिए ।
बाँकीको राहदानी आउने क्रममा रहेको उनको भनाइ छ । सरकारको गत चैत १३ गते बसेको मन्त्री परिषदको बैठकले हुलाकमार्फत नागरिकको घर–घरमै राहदानी (पासपोर्ट) पु¥याउने निर्णय गरेको थियो । सरकारको शासकीय सुधार कार्यक्रमअन्तरगत हुलाक सेवामार्फत राहदानी नागरिकको घर–घरमै पु¥याउने नीति अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय गोरखा बीच बैशाख १५ गते सम्झौता भएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक बीच गृहजिल्लाभित्र नागरिकको घर–घरमा राहदानी पु¥याउने सम्झौता भएको थियो । ‘सम्झौता अनुसार जिल्ला प्रशासन कार्यालयमा एउटा काउन्टर नै स्थापना गरेर हुलाक कार्यालयको एकजना कर्मचारी राखेका छौँ’, गैरेले भने, ‘प्रशासनमा राहदानीको फारम भर्न आउने सेवाग्राहीहरुले फारम भर्दा राहदानी लिन कार्यालयमै आउने अथवा घरमै लिने भन्ने छनोट गर्नुहुन्छ । घरमै लिने भन्नेहरुको हकमा हुलाकको फारम भराएर आवश्यक विवरण टिप्ने गरेका छौँ । सोही विवरणको आधारमा राहदानी आएपछि घरमै पु¥याइदिन्छौँ ।’
घरमै राहदानी लिनका लागि सेवाग्राहीहरुले ५५ रुपैँयाको हुलाक टिकट टाँस्नुपर्ने उनले बताए । त्यो बाहेक अन्य अतिरिक्त शुल्क भने नलाग्ने उनको भनाइ छ । राहदानीको फाराम भरेका सेवाग्राहीहरुले घरमै राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालयको हुलाक काउन्टरमा आवश्यक विवरण टिपाउनुपर्ने व्यवस्था छ । सेवाग्राहीहरुले आफ्नो नाम, नंबर, ठेगाना लगायतका विवरण टिपाउनुपर्ने हुलाक कार्यालयले जनाएको छ ।
काठमाडौँबाट छापिएर आएका राहदानी प्रशासन कार्यालयले हुलाक कार्यालयको जिम्मा लगाइसकेपछि जिल्लाभित्र कम्तिमा तीन दिनभित्र सेवाग्राहीहरुको घरघरमा पुग्ने हुलाक अधिकृत बिनोद गैरेले बताएका छन् । ‘सेवाग्राहीले राहदानी लिईसकेपछि हामीले त्यसको रसिद बनाएर प्रशासन कार्यालयलाई बुझाउँछौँ’, उहाँले भन्नुभयो ।
जिल्ला हुलाक कार्यालयले उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा पनि घरमै राहदानी पु¥याउने सरकारको नीति बमोजिक काम गरिरहेको छ । यद्यपि भौगोलिक विकटताका कारण चुमनुब्रीको हकमा पालिकाको केन्द्र फिलिम बाहेक अन्य ठाउँ घर–घरमा राहदानी पु¥याउने विषय जटिल रहेको जिल्ला हुलाक कार्यालय गोरखाका प्रमुख बिनोद गैरे बताउछन् ।
उनी भन्छन्, ‘चुमनुब्रीमा पालिका केन्द्रसम्म मात्र पठाउन सक्छौँ, त्यो भन्दामाथि पु¥याउने जनशक्ति र श्रोतसाधन हामीसँग छैन । सरकारको नीति अनुसार हामीले भएका जनशक्ति र श्रोतसाधनको अधिकत्तम प्रयोग गरेर यो सेवा संचालनका ल्याएका हौँ ।’ जिल्लाको पालुङटार नगरपालिका, सहिदलखन र आरुघाट गाउँपालिकाका अधिकांश सेवाग्राहीहरुले घरमै राहदानी बुझिलिने गरेको जिल्ला हुलाक कार्यालय गोरखाको भनाइ छ ।




