| बुधबार, भदौ ३०, २०८३

गोरखा कांग्रेस अधिवेशनमा होमियो

नेपाली कांग्रेस गोरखा आसन्न १५ औँ महाधिवेशनमा होमिएको छ । पार्टी केन्द्रले तोकेबमोजिमको कार्यसूची अनुसार जिल्ला कार्यसमितिले मंगलबार विपी स्मृति सभाहलमा अधिवेशन तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति, प्रदेश क्षेत्रीय समिति, गाउँ कार्य समिति तथा वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए । ‘अभिमुखीकरण कार्यक्रममा सबै पालिकाका सभापति, सबै क्षेत्र र प्रदेश क्षेत्रीय समितिका सभापति, सबै वडाका सभापतिहरु हुनुहुन्थ्यो’, जिल्ला कार्य समितिका सचिव किशोरजंग थापाले भने, ‘गोरखामा पार्टीको १५ औं अधिवेशनका सन्दर्भमा कसैको पनि फरक मत छैन । सबैको एकमत छ ।’

कार्यक्रममा केन्द्रीय सदस्यहरु अव्दुल सतार, मनकुमारी गुरुङ र दिनेश सुनार पनि सहभागी थिए भने प्रदेश कार्यसमितिका सदस्यहरु प्रकाशचन्द्र दवाडी, पूर्ण दाहाल, विनाकुमारी र रविकला खनाल पनि सहभागी थिए । सो अभिमुखीकरणमा पार्टीको विधान, अधिवेशनका प्रक्रियाहरु, निर्वाचनसम्बन्धी निर्देशिका तथा नियमावलीका बारेमा जानकारी गराइएको थियो ।

अभिमुखीकरणमा सबै क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, पालिका सभापति तथा वडा सभापतिहरुलाई निर्धारित मितिभित्र अधिवेशन गरिसक्न पार्टी सभापति न्यौपानेले निर्देशन गरेका थिए । पार्टीले आउँदो असोज ४ गतेभित्र जिल्लाका ९४ वटै वडाको अधिवेशन गरिसक्न, सात गते पालिका कार्यसमितिको अधिवेशन गर्न र ९ र १० गते क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन गरेको जिल्ला सचिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्