| सोमवार, भदौ २८, २०८३

आरोहण गर्नुअघि मनास्लुको पूजाआजा

आरोहण गर्नुअघि आरोही तथा सहयोगीहरुले मनास्लु हिमालको पूजाआजा गरेका छन् । सोमबार बिहान क्याम्प वान जानुअघि आइतबार दिनभर आधार शिविरको पूजाआजा गरेका आरोहीका सहयोगी बिसबहादुर गुरुङले जानकारी दिए ।

लामा पुजारीले बेस क्याम्पमा पूजा गरेका उनले बताए । ‘आरोहणका क्रममा कसैलाई दुख, समस्या नपरोस् । हिउँ पहिरोमा नपरियोस्, कोही बिरामी नहोउन्, हावाहुरी, आँधीको समस्या नपरोस् भनेर लामा गुरुले प्रार्थना गर्नुभयो’, गुरुङले भने, ‘यसरी पूजा गरेमा यात्रा सुखद हुने विश्वास छ । कसैलाई दुख, समस्या पर्दैन भन्ने विश्वास छ ।’ स्थानीयको यो विश्वासप्रति विदेशी आरोहीहरुले पनि आस्था राख्ने गरेको उनले बताए ।

पूजा गरिसकेपछि आरोही तथा सहयोगीहरु नाचगान गरेर रमाइलो पनि गरेका थिए ।

किलर माउण्टेन भनेर चिनिने ८,१६३ मिटर अग्लो मनास्लु यो सिजनमा ३८ समूहका ४५१ जना आरोहीले मनास्लु आरोहण गर्दैछन् । यसबाट नेपालले २० करोड ५५ लाख ५१ हजार राजस्व आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्