
मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने सामागाउँका युवाहरुको घोषणा
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरु आमरण अनसन बस्ने घोषणा गरेका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँका युवाहरु जलवायू परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्ने विभिन्न आठ बुँदे ध्यानाकर्षण पत्रसहित आउँदो असोज २ गते(सेप्टेम्बर १८)देखि मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए ।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्वोधन गरी लेखिएको आठ बुँदे ध्यानाकर्षण पत्र वडाअध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेश गरेका छन् ।
सो ध्यानाकर्षण पत्रमा मनास्लु आधार शिविर तथा पुंगेन गुम्बामा यो बर्ष धेरै नयाँ हिमतालहरु थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायहरुको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ ।
‘मनास्लुको फेद(पुंगेन)मा अहिले धेरै हरिया रङका तालहरु थपिएका छन् । विशेषगरी वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीनवटा ठूलो जोखिमयुक्त ताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालहरुको हवाइ अनुगमन, निरीक्षण गरियोस्’ पत्रमा भनिएको छ, ‘यी सबै तालहरुको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस् ।’
यी ताल र नदीहरुमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न पनि माग गरिएको छ । नेपाल र चीनको क्षेत्रमा रहेका हिमताल तथा हिमनदीकोहरुको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न पनि माग गरिएको छ । एमक्यापजस्ता हिमाली क्षेत्रसंग सम्बन्धि संस्थाहरुले पनि देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै सबै हिमाली क्षेत्रका विद्यालयहरुमा जलवायू परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ । त्यस्तै विश्वव्यापी वातावरणीय प्रदुषणमा नेपालको योगदान जम्मा ०.४ प्रतिशत योगदान रहेकामा प्रदुषण फैलाउने विकसित राष्ट्रहरुबाट नेपालले पाउनु पर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्नका लागि सहरहरुमा हुने गरेका जलवायू सम्बन्धी बैठक, सेमिनारहरु हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी, गैरसरकारी संस्थाहरुसंग माग गरिएको छ । सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ । सुरुमा आफू एक्लै आमरण अनसन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको दावा नोर्वु लामाले जानकारी दिए ।




