| सोमवार, भदौ २८, २०८३

उत्तरी गोरखा अठारसय खोला तमु समाजको प्रथम वार्षिक साधारण सभा सम्पन्न

उत्तरी गोरखा अठारसय खोला तमु समाजको प्रथम वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँ बसोबास गर्ने उत्तरी गोरखाको बारपाक, आरुघाट, धार्चे तथा चुमनुब्री गाउँपालिकाको गुरुङ समुदायहरुले संयुक्त रुपमा गठन गरेको संस्थाको प्रथम वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको हो ।

आइतबार भएको प्रथम साधारण सभाले चार मुख्य निर्णयहरु गरेको समाजका अध्यक्ष धनबहादुर गुरुङले बताए । सभाले उत्तरी गोरखा अठारसय खोला तमु समाजको नीति तथा कार्यक्रमहरु पारित गरेको छ । यस्तै, काठमाडौँमा समाजको आफ्नै भवन निर्माण गर्ने र दाहसंस्कारका लागि चिहानडाँडा खरिद गर्ने निर्णय भएको गुरुङले जानकारी दिए । ‘काठमाडौँ बसेपनि उत्तरी गोरखाको मौलिक संस्कार, संस्कृति र परम्परालाई जन्मदेखि मृत्युसम्म पालना गर्ने र यी संस्कारहरु नयाँ पुस्तालाई समेत हस्तानतरण गर्ने निर्णय भएको छ’, उनले भने ।

उत्तरी गोरखा घरभई विभिन्न पेशा व्यवसाय गरेर काठमाडौँ बस्दै आएका तमु समुदायलाई एकजुट गर्ने उद्देश्यसहित उत्तरी गोरखा अठारसय खोला तमु समाज गठन गरेको समाजका अग्रज दिलबहादुर गुरुङले बताए । उनका अनुसार समाजमा बारपाकसुलिकोट गाउँपालिकाको बारपाक गाउँ, आरुघाटका केही क्षेत्रहरु र धार्चे तथा चुमनुब्रीका १७२ घरधुरी आबद्ध छन् ।

समाजका अध्यक्ष धनबहादुर गुरुङको सभापतित्व एवं गृहमन्त्री सुदन गुरुङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा उत्तरी गोरखाकी संघीय सांसद एलिजा गुरुङ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, समाजमा अन्य पदाधिकारीहरु एवं सदस्यहरुले उपस्थिति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्