
गोरखाकी एक बिरामी महिलालाई सरकारले ग¥यो हेलिकोप्टरबाट उद्धार
उत्तरी गोरखाकी एक बिरामी महिलालाई सरकारले हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगेको छ । हिमाली भेगको चुमनुब्री ६ चुमचेतकी २३ बर्षीया एलिसा लामालाई सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको हो ।
चार दिनदेखि १०४ डिग्री ज्वारो आउने, घाँटी र टाउको दुख्ने, सुन्निने तथा वान्ता हुने समस्याबाट ग्रस्त भएकाले लामालाई हेलिकोप्टरबाट उद्धार गरी काठमार्डौ पठाइएको चुम्चेत स्वास्थ्यचौकीका अहेव खुमबहादुर मल्लले जानकारी दिए ।
शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको हो ।
‘उहाँ पाँच महिनाको गर्भवती पनि हुनुहुन्थ्यो’, मल्लले भने, ‘त्यसैले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम उद्धार गरिएको हो ।’ सो कार्यविधिमा जटिल सुत्केरीलाई हवाई उद्धार गरी उपचार गर्ने व्यवस्था गरिएको छ ।




