| शुक्रबार, भदौ २५, २०८३

सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर

गाउँबाट अत्याधिक बसाइँसराई भएपछि जिल्लाका गाउँपालिकाहरुको सेवा दिने तरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीहरुलाई गोरखा, पोखरा, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, पोखरा, काठमाडौँ र चितवनका शहरहरुमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण शिविर सञ्चालन गर्दै आएका छन् ।
गाउँपालिकाका अधिकांश वृद्धवृद्धा औषधी उपचारका लागि पोखरा, काठमाडौँ तथा चितवन जस्ता शहरहरुमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरेको अजिरकोट गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष बाबुराम अधिकारीले बताए ।

उनका अनुसार पालिकाले यसरी शहरमै पुगेर घुम्ती शिविर संचालन गरेको यो दोस्रो वर्ष हो । ‘गत वर्ष चितवन र काठमाडौँमा शिविर गरेका थियौँ । यो वर्ष पोखरामा पनि शिविर राख्नु पर्ने अवस्था आएपछि त्यहाँ पनि गर्यौँ’, उनले भने, ‘गाउँपालिकाको पञ्जीकरण शाखाका दुईजना कर्मचारी र हामी केही जनप्रतिनिधिहरु सहितको टोली सहरमा शिविर संचालन गर्दै हिँडेका छौँ ।’
पालिकाले भदौ २२ गते सोमबार पोखरामा सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण शिविर सञ्चालन गरेको उनले जानकारी दिए ।

‘बुधबार र बिहीबार चितवनमा ग¥र्यौ । अब २७ र २८ गते काठमाडौँमा हुन्छ’, वडाअध्यक्ष अधिकारीले भने, ‘पोखरामा २३ जना र चितवनमा १६५ जनाले भत्ताको कार्ड नविकरण गराएका छन् । काठमाडौँमा पनि २०० को हाराहारीमा सेवाग्राही छन् ।’
कतिपय बृद्धबृद्धाहरु ह्वीलचियर सहित गाउँमामा आउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाले सहरमै पुगेर सेवा दिएको उनको भनाई छ ।

अजिरकोट गाउँपालिकाका अधिकांश बृद्धबृद्धा छोराछोरीको सहारा खोज्दै पोखरा, काठमाडौँ, चितवनमा बसोबास गर्न थएका छन् । कतिपय भने औषधी उपचारका लागी सहरहरुमा बस्दै आएको अजिरकोट ३ का वडाअध्यक्ष अधिकारीले बताए । उनीहरु गाउँमा आउनु भन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नविकरण गराउन उतै गएको उनको भनाइ छ ।

हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नविकरण गरिएको गाउँपालिकाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्