
कृष्णभीरलाई १९ किलोमिटर सुरक्षित विकल्प दिँदै गण्डकी गाउँपालिका
पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वीराजमार्गको कृष्णभीर खण्डलाई गोरखाको गण्डकी गाउँपालिकाले १९ किलोमिटर सुरक्षित विकल्प दिँदैछ । सो राजमार्गको फिस्लिङबाट मोटरेबल पुल तरेर गण्डकी गाउँपालिकाको गढाइ, ज्यामिरघाट, घ्याल्चोक, सिउरेनीटार हुँदै पुन राजमार्गको बेनिघाट निस्कने गरी विकल्प दिन लागेको हो ।
सो १९ किलोमिटर खण्डमा अहिले धमाधम सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका प्रमुख दिपक तिमिल्सिनाले जानकारी दिए । ‘१९ किलोमिटरमध्य १.४ किलोमिटर ट्रयाक खन्न बाँकी छ । त्यो काम अहिले धमाधम भइरहेको छ’, उनले भने, ‘आउँदो चैतसम्ममा सम्पन्न गर्नेगरी १० किलोमिटर डबल लेन सडक कालोपत्रेको काम पनि सुरु हुँदैछ । चार किलोमिटरको चाहिँ ग्रेड मिलाउनु पर्ने छ । त्यो काम पनि अब सुरु हुन्छ ।’
चार करोड रुपैयाँ स्रोत सुनिश्चित भइसकेकाले १.४ किलोमिटर ट्रयाक खन्ने र चार किलोमिटर ग्रेड मिलाउने काम धमाधम भइरहेको उनले बताए । यहाँ सुरक्षित सडक निर्माण भएपछि कृष्णभीरमा जुनसुकै बेला जोखिम भए पनि विकल्प दिन सकिने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले बताए ।
गत भदौ १० गते भोटेकोशी–त्रिशुलीमा आएको बाढीका कारण राजधानी प्रवेश गर्ने लाइफलाइन मानिएको पृथ्वी राजमार्गअन्तरगत कृष्णभीर तथा विभिन्न सडकखण्ड भासिँदा मुग्लिन–काठमाडौँ सडक अबरुद्ध बनेको थियो । कृष्णभीरमा अल्पकालीन रुपमा सडक सुचारु गर्ने प्रयास गरे पनि जुनसुकै बेला पहिरो जान सक्ने जोखिम कायम छ ।
राजमार्ग अवरुद्ध हुँदा खाद्यान्न, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यकीय बस्तुको हाहाकार हुन नदिन कृष्णभीरको पहिरो छल्न गोरखाको गण्डकी गाउँ पालिकातर्फको सडक प्रयोग गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।




