
मनास्लु पदमार्गको थेराङ र सुराङ खोलामा फड्के निर्माण, आवतजावत सुचारु हुँदै
मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर आवतजावत सुचारु गरेका छन् । चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर आवतजावत गर्न थालेको वडाअध्यक्ष पेमा ग्याल्पो लामाले जानकारी दिए ।
गत आइतबार बिहान नाम्रुङस्थित फलामे पुल थेराङ खोलाको बाढीले बगाएको थियो भने सुक्समको झोलुङ्गे पुल बूढीगण्डकीको बाढीले बगाएको थियो । साथै सुक्सममा पहिरोले बाटो बिगारेपछि आवतजावत बन्द थियो ।
अहिले बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाएर आवतजावत खुलाइएको वडाअध्यक्ष लामाले बताए ।
‘थेराङको फड्के बनाएपछि त्यहाँचाहिँ बाटो खुलिसकेको छ’, उनले भने, ‘सोमबार र मंगलबार दिनभरि सुक्सममाथि वैकल्पिक बाटो बनाएर सुरङ खोलामाथि फड्को बनाएर अस्थायी आवतजावत खुलाएका छौँ । काठको मुढा तेस्र्याएर फड्के बनाइसकिएको छ । अब दुईतर्फी बार लगाएपछि काम सकिन्छ ।’ बुधबारसम्म दुईसाइड बारको काम पनि सकिने र वैकल्पिक बाटो खोल्ने लक्ष्य रहेको उनको भनाइ छ ।
गपभन्दा केहीमाथि जंगल होटल, लुंगाछ्योताबाट सुराङको फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ निस्कने बाटो बन्ने काम पनि सकिएको उनले बताए । गत आइतबार बिहान ३ बजे थेराङ खोलामा आएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत र एक पुल बगाएको थियो ।
साथै सोही बाढीले बूढीगण्डकीको वहाव बढ्न गई सुक्समस्थित झोलुंगेपुल बगाएको र पहिरोसमेत झरेपछि मनास्लु पदमार्ग अनिश्चितकालका लागि अवरुद्ध बनेको थियो । अब वैकल्पिक बाटो बनेपछि पुन सुचारु हुने वडाअध्यक्ष लामाको भनाइ छ ।
सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री नन्दप्रसाद न्यौपानेसहित जिल्ला प्रशासन कार्यालय गोरखामा सम्पन्न सर्वपक्षीय बैठकमा सो पुल प्रदेश सरकारले पुनर्निर्माण गर्ने निर्णय भएको थियो ।
साथै मनास्लु पदमार्गका सबै पहिरोहरु पन्छ्याएर आवतजावत सुचारु गर्ने काम मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले गर्ने निर्णय भएको थियो । बाटो तथा पुलको प्राविधिक अध्ययनका सबै काम गरी मर्मतसम्भार तथा पुनर्निर्माण गर्न प्रदेशमा सिफारिस गर्ने काम गाउँपालिकाले गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।




