| मङ्लबार, भदौ २२, २०८३

फड्के बनेपछि नाम्रुङमाथि बाटो खुल्यो, नाम्रुङ तलको बाटो आजसम्म खुल्ने

मनास्लु पदमार्गको पुल बाढीले बगाएपछि स्थानीयले फड्के बनाएर आवतजावत सुचारु गरेका छन् । चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित थेराङ खोलामाथिको फलामे पुल बाढीले बगाएपछि फड्के हालेर आवतजावत गर्न थालेको वडाअध्यक्ष पेमा ग्याल्पो लामाले जानकारी दिए ।

अहिले बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाइरहेको उनले बताए । ‘थेराङको फड्के बनाएपछि त्यहाँचाहिँ बाटो खुल्यो’, उनले भने, ‘हिजोदेखि सुक्सममाथि वैकल्पिक बाटो बनाएर बाटो सुचारु गर्न रातदिन जुटिरहेका छौँ । अहिले सुराङमा पनि काठको मुढा तेस्र्याएर फड्के बनाउने काम भइरहेको छ ।’ मंगलबार साँझसम्म वैकल्पिक बाटो बनाइसक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

गपभन्दा केहीमाथि जंगल होटल, लुंगाछ्योताबाट सुराङको फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ निस्कने बाटो बनिरहेको उनले बताए ।

गत आइतबार बिहान ३ बजे थेराङ खोलामा आएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत र एक पुल बगाएको थियो । साथै सोही बाढीले बूढीगण्डकीको वहाव बढ्न गई सुक्समस्थित झोलुंगेपुल बगाएको र पहिरोसमेत झरेपछि मनास्लु पदमार्ग अनिश्चितकालका लागि अवरुद्ध बनेको थियो ।

अब वैकल्पिक बाटो बनेपछि पुन सुचारु हुने वडाअध्यक्ष लामाको भनाइ छ ।

सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री नन्दप्रसाद न्यौपानेसहित जिल्ला प्रशासन कार्यालय गोरखामा सम्पन्न सर्वपक्षीय बैठकमा सो पुल प्रदेश सरकारले पुनर्निर्माण गर्ने निर्णय भएको थियो । साथै मनास्लु पदमार्गका सबै पहिरोहरु पन्छ्याएर आवतजावत सुचारु गर्ने काम मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले गर्ने निर्णय भएको थियो । बाटो तथा पुलको प्राविधिक अध्ययनका सबै काम गरी मर्मतसम्भार तथा पुनर्निर्माण गर्न प्रदेशमा सिफारिस गर्ने काम गाउँपालिकाले गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

तस्वीरहरु ः इप्रका आरुघाटको फेसबुक पेजबाट

प्रतिक्रिया दिनुहोस्