
मनास्लु पदमार्ग मर्मत एमक्यापले, पुल प्रदेश सरकारले बनाउने
गत आइतबार बिहानको बाढीबाट क्षतिग्रस्त मनास्लु पदमार्ग मर्मतसम्भारको काम मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले गर्ने र बाढीले बगाएको बूढीगण्डकीमाथिको पुल प्रदेश सरकारले बनाउने निर्णय भएको छ ।
यस विषयमा सोमबार जिल्ला प्रशासन कार्यालय गोरखामा सम्पन्न सर्वपक्षीय छलफलमा यस्तो निर्णय भएको सहायम प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।त्यस्तै पदमार्गका पहिरोले क्षति भएका पदमार्गको स्थिति र पुल निर्माणको प्राविधिक अध्ययन गाउँपालिकाले गर्ने पनि निर्णय भएको शर्माले जानकारी दिए ।
गत आइतबार बिहान तीन बजे चुमनुब्री ४ स्थित थेराङ खोलाको बाढी र पहिरोले नाम्रुङका चार घर बगाएको थियो भने त्यहाँको एक फलामे पुल पनि बगाएको थियो । सो बाढीपछि बूढीगण्डकीमा पानीको बहाव बढ्न गई नाम्रुङबेशी(सुक्सम)को झोलुंगे पुल बगाएको थियो । त्यस्तै सुक्सममा हिँड्नै नमिल्ने गरी पहिरो पनि गएको स्थानीयले बताएका छन् ।




