
मनास्लु पदमार्गमा सुचारु गर्न अल्पकालीन बाटो बनाउँदै स्थानीय
बाढीले पुल बगाएपछि अनिश्चितकालका लागि अवरुद्ध बनेको मनास्लु पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन वैकल्पिक बाटो बनाउन थालेका छन् । चुमनुब्री गाउँपालिका–४ नामरुङफेदी, सुक्समस्थित पुल बूढीगण्डकीले बगाएपछि अवरुद्ध बनेको पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन विकल्प खोजेका हुन् ।
थेराङ खोलाको बाढीले बूढीगण्डकीमा पानीको बहाव बढ्न गई नाम्रुङ खण्डमा दुईवटा झोलुङ्गे पुल बगाएपछि अवरुद्ध बनेको मनास्लु–लार्के पास पदमार्ग वैकल्पिक व्यवस्था गरी सञ्चालनमा ल्याउन स्थानीय स्तरमा पहल गरिएको वडाअध्यक्ष पेमा ग्याल्बो लामाले जानकारी दिए । पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले सो पदमार्गमा अर्को सूचना नभएसम्म पर्यटकलाई आवतजावत गर्न रोक लगाएको थियो ।
सिजन सुरु हुनै लाग्दा पदमार्ग अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित हुने भन्दै वडा कार्यालय र चुमनुब्री गाउँपालिकाको पहलमा सोमबारदेखि वैकल्पिक बाटो निर्माण गर्न थालिएको लामाले जानकारी दिए । सिजन सुरु हुनै लाग्दा पुल बगाएपछि पर्यटक तथा स्थानीय बटुवालाई आवतजावतमा समस्या नहोओस् भन्ने उद्देश्यले वैकल्पिक बाटो खुलाउन लागिएको उनको भनाइ छ ।
वैकल्पिक बाटो सञ्चालनमा आएपछि अर्को पुल पुनर्निर्माण नभएसम्मका लागि आवतजावतमा केही सहजता हुने अपेक्षा गरिएको छ ।




