
यसपालिको छोनाम सामान्य रुपमा मनाइयो
सीमान्तकृत चेपाङ समुदायको प्रमुख चाड छोनाम सोमबार मौलिक परम्पराअनुसार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।मकै, घैयाधान, कर्कलो, पिडालु, केरा, निबुवा लगायतका पाखेबाली प्रकति देवता, कुलदेवता तथा पितृलाई अर्पण गरेर आफुले खान सुरु गरी यो पर्व मनाइएको गण्डकी गाउँपालिका ६ थुम्काका चन्द्र चेपाङले जानकारी दिए ।
गएराती घरघरमा पाण्दे(पुरोहित÷झाँक्री) फलाकेर देवता तथा पितृको पुकार गरेका छन् । देवता र पितृलाई पुकार गरिसकेपछि नयाँ अन्न तथा नयाँ बाली खाने प्रचलन रहेको उनको भनाइ छ । सोमबार बिहानैदेखि आफ्ना छोरी, ज्वाइँ, नाति नातिना भेला हुने, मिठोचोखो खाने, राम्रो लगाउने गरेर यो पर्व मनाइरहेको नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।
चेपाङ समुदायको बाक्लो बसोबास रहेको गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकाका तथा चितवन, धादिङ, मकवानपुरमा छोनाम भव्य रुपमा मनाउने गरिन्छ । ‘तर यो बर्ष भोटेकोशी, त्रिशुली बाढीले मुलुकै शोकाकुल भइरहेका बेला हामीले धुमधामले छोनाम मनाउन सकेनौँ’, गोविन्दराम चेपाङले भने, ‘वाग्मती प्रदेश सरकारले छोनाम मनाउन धादिङ, चितवन र मकवानपुरमा सार्वजनिक विदा पनि दिएको छ ।
गोरखाको पनि गण्डकी र सहिद लखन गाउँपालिको पनि विदा त दिएका थिए तर आजकै दिनमा सरकारले राष्ट्रिय शोक दिवसको पनि घोषणा ग¥यो । राष्ट्रिय शोकको घोषणा गरेका बेला भव्य रुपमा औपचारिक कार्यक्रम गरेर मनाउने कुरै आएन ।’ घरघरमा परम्पराअनुसार भने सबैले मनाएका उनले बताए ।
धादिङ, चितवन, मकवानपुर जिल्ला र गण्डकी प्रदेशको गोरखा, लम्जुङ, तनहूँ र नवलपुर जिल्लामा चेपाङ समदायको बसोबास रहेको छ । २०७८ सालको जनगणना अनुसार अल्पसंख्यक सीमान्तकृत चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६८ रहेको छ ।
पितृ, प्रकति र जीवनशैलीसँग सम्बन्धित रहेको यो पर्वलाई नेपाल सरकारले २०६३ देखि हरेक बर्षको भदौ २२ गते मनाउन मान्यता दिएको छ । भदौ महिनाको जुनसुकै पाँच दिन यो पर्व मनाउने गरे पनि २२ गतेलाई संस्थागत रुपमा मनाउन मान्यता पाएको चेपाङले बताए ।




