
रसुवा बाढी : शव खोज्न तालिमप्राप्त ‘केनाइन’ (कुकुर) परिचालन
रसुवा बाढीले बगाएर ल्याएको शव खोजीका लागि त्रिशुली नदी किनारमा नेपाल प्रहरीको तालिमप्राप्त ‘केनाइन’ (कुकुर) प्रयोग भएको छ । शहिदलखन गाउँपालिका–४ कुरिनटारस्थित नदी किनारमा आइतवारबाट ‘केनाइन’ प्रयोग भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका डिएसपी राजकुमार श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय केनाइन उपशाखा पोखराबाट प्रहरी नायव निरीक्षक मिलन केसीको कमाण्डमा तालिमप्राप्त दुई वटा कुकुरसहित थप जनशक्ति परिचालन भएको हो । ‘हाम्रो कार्यालयबाट प्रहरी निरीक्षक बिशाल अधिकारीको कमाण्डमा ३५ जनाको टोलि केही दिनदेखि खोजी तथा उद्धार कार्यमा निरन्तर त्यहाँ खटिएको छ,’ उनले भने, ‘सँगै नेपाली सेना र सशस्त्र प्रहरी पनि परिचालन भएको छ ।’
फेवाटार, सिलिङटार, त्रिवेणीघाट लगायत त्रिशुली नदी किनारमा शव खोजी कार्यलाई तिव्र बनाइएको उनले बताए । उनका अनुसार केनाइको प्रयोगले शनिवार थप एउटा शव फेला परेको छ । शहिद लखन गाउँपालिका–३ स्थित त्रिशुली नदी किनारमा शव फेला परेको उनले बताए ।
योसँगै जिल्लामा फेला परेको शवको संख्या ७४ पुगेको छ । ‘यीमध्ये ६ वटा पहिचान भयो, तीन वटा पहिचान हुन बाँकी छ, अन्यको व्यवस्थापन भइसक्यो,’ डिएसपी श्रेष्ठले भने ।




