
गोरखाको बाढी प्रभावित क्षेत्रमा ११ दिनपछि विजुली
गोरखाको त्रिशुली पीडित क्षेत्रमा विद्युत अवरुद्ध भएको ११ दिनपछि विजुली बलेको छ । त्रिशुलीको बाढीले क्षतविक्षत बनाएको नदी आसपासका पोल तथा ट्रान्समिशन लाइन मर्मत सम्भार गरेपछि गण्डकी गाउँपालिका वडा नं. ७, ८ का सवै र वडा नं. ५ र ६ का केही गरी करिब दुईहजार घरधुरीमा आइतबारदेखि विजुली वत्ती बलेको हो ।
विद्युत सेवा सुचारु भएपछि स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा सरकारी कार्यालयमा काम गर्न सहज भएको छ । भोटेकोशी–त्रिशुली बाढीका कारण बिद्युत् सेवा मात्र नभई गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको थियो ।
धादिङ र गोरखातर्फका प्राविधिक कर्मचारी एकजुट भई विद्युतका पोल तथा ट्रान्समिशन लाइन तीव्र गतिमा मर्मतसम्भारको काम गरेपछि विद्युत सेवा सुचारु गर्न सफल भएको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख राम आशिष शाहको भनाइ छ ।
बाढीले नेपाल विद्युत प्राधिकरणका धादिङको जहरे सव–स्टेशन तथा गजुरी फिडरबाट वितरण हुने गण्डकी गाउँपालिकाका करिब दुईहजार घरधुरी विद्युत सेवाबाट बञ्चित भएको शाहले जानकारी दिए । विद्युत सेवा बन्द हुँदा ती गाउँबस्तीमा बत्ती बाल्न नपाइएको, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन हेर्न तथा कुटानी, पिसानी मिल चलाउन पनि नपाएको स्थानीय विजय रुपाखेतीले जानकारी दिए । सेवा सुचारु भएपछि सबै सेवा उपलब्ध भएको उनको भनाइ छ ।




