| आइतवार, भदौ २०, २०८३

आकस्मिक रक्तसञ्चार केन्द्रका संस्थापक स्वयंसेवक अर्याल र श्रेष्ठ सम्मानित

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले गोरखामा स्थापित आकस्मिक रक्तसञ्चार केन्द्रका संस्थापक स्वयंसेवक नारायणबाबु अर्याल र त्यसपछिका स्वयंसेवक चिजकुमार श्रेष्ठलाई सम्मान गरेको छ । रेडक्रसको ६४ ओेँ स्थापना दिवसको अवसर पारेर गत शुक्रबार जिल्ला शाखाका सभापति भीमसेनकाजी बानियाँले स्वयंसेवकद्वयलाई सम्मान गरेका हुन् ।

अर्यालले केन्द्रको स्थापना काल २०६६ भदौ १९ देखि २०७१ माघसम्म र श्रेष्ठले २०७० भदौदेखि २०७९ सम्म स्वयंसेवा गरेका थिए । आफूहरुको योगदानको स्मरण गरेर सम्मान गरिएकोप्रति सम्मानित द्वयले रेडक्रसलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।

‘गोरखा तथा गोरखाली जनताको जीवनरक्षाका लागि स्थापित आकस्मिक रक्तसञ्चार सेवाको स्थापनामा योगदान तथा स्थापना कालदेखि स्वयंसेवीका रुपमा सेवा गर्न पाउनु मेरो जीवनकै महत्वपूर्ण र गौरवपूर्ण अनुभव हो’, अर्यालले भने, ‘मेरो विगतको स्वयंसेवी योगदानलाई स्मरण गर्दै सम्मान गर्नुभएकोमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, गोरखाप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।’

स्थापना दिवसकै अवसर पारेर ताप्लेमा खुल्ला पुरुष तथा महिला दौड प्रतियोगिता भएको छ । रेडक्रस सोसाइटी ताप्ले उपशाखाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ सागर भट्टारई प्रथम भएका छन् । चार किलोमिटरको निर्धारित दुरी उनले १४ मिनेट २ सेकेण्डमा पार गरेका थिए । रुद्र पनेरु दोस्रो र सुमन परियार तेस्रो भएका छन् । निर्धारित दुरी क्रमश १४ मिनेट ४६ सेकेण्ड र १५ मिनेट ५० सेकेण्डमा पार गरेका थिए ।

महिलातर्फ कृष्टि बिक पहिलो, जुवेदा खातुन दोस्रो र रेश्मा खातुन तेस्रो भएका छन् । २ किलोमिटरको निर्धारित दुरी उनीहरुले क्रमश ८ मिनेट २१ सेकेण्ड, ८ मिनेट ४६ सेकेण्ड र ९ मिनेट १५ सेकेण्डमा पार गरेका थिए । प्रतियोगिताका बिजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको उपशाखा सभापति हरिराम खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्