| आइतवार, भदौ २०, २०८३

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति

प्रतीक्षा आले
यो बर्षको शरदऋतु (असोज, कात्तिक)मा मनास्लु हिमाल आरोहण गर्न विभिन्न मुलुकका २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको पछिल्लो तथ्यांक अनुसार २९ टोलीका तीनसय ४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।
विभागबाट अहिलेसम्म कूल ३२ टोलीका तीनसय ६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका तीनसय ४८ आरोही रहेको विभागले जनाएको छ ।

यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ । त्यसमध्य मनास्लुका आरोहीबाट मात्र १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ राजस्व संकलन भएको छ ।

गोरखाको चुमनुब्री १, सामागाउँमा रहेको आठ हजार एक सय ६३ मिटर उचाईको मनास्लुमा केही बर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ । अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरुले क्याप निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही नाङ्स्याल छोदेनले बताइन् । आरोहीहरु भने सोमबार (सेप्टेम्बर ७)पछि मात्र बेसक्याप आउने उनले जानकारी दिइन् ।

हाल बेसक्याप नजिकै रहेको सामागाउँ आरोही र उनीहरुका सहयोगीले खचाखच भरिएको छोदेनको भनाई छ ।
मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौं अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रुपमा पनि चिनिन्छ ।
मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दुरीमा रहेको छ ।

बेसक्याम्प गाउँ नजिकै रहनुले पनि आरोहीको रोजाइमा पर्ने गर्छ । आरोहीहरुले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गर्छन् । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्