
बसबाट हामफालेर आफू बाँचे तर श्रीमती र छिमेकी बचाउन सकेनन्
गल्छीभन्दा थोरै पर सामान बोक्ने केही कन्टेनर लस्करै फर्केको देख्दा उनको मनमा केही शंका उपशंका उत्पन्न भइसकेको थियो । त्रिशुली नदीमा बाढी आएको गाईगुई जब सुने पालुङटार नगरपालिका–५ माझाटारस्थित नौखोरका करिव ७० बर्षीय बद्रीप्रसाद देवकोटाको मन आत्तियो ।
उनका अनुसार त्यति बेलासम्म त्रिशुली नदीमा बाढीको कुनै संकेत थिएन । नदी संग्लै थियो । अन्य केही सवारी पनि अघि बढिरहेका थिए । सामान्य ठानेर उनी चढेको बस पनि अघि बढीरह्यो । बिस्तारै चालकले गाडीको गति बढाउन थाले । भैसै नपुग्दै सँगै यात्रामा रहेका बाबुराम देवकोटाले पिसाव फेर्नका लागि बस रोक्न आग्रह गरे । तर रोकिएन । बसको गति झन् बढ्न थाल्यो ।
अघि बढ्दै गर्दा एक्कासी चालकको आँखा केही पर माथिबाट आउँदै गरेको ठुलो छालमा प¥यो । बस फर्काउन भन्दै ‘स्पिड’ कम गरे । सोही क्रममा बाबुराम बसबाट हाम फाल्न भ्याए । लगतै सँगै यात्रामा रहेका तुलाराम देवकोटा पनि हाम फाले ।
बद्रीप्रसादको मन झन् आत्तियो । ‘म ड्राइभरदेखि पछाडी सिटमा बसेको थिए, के भएछ भनेर माथिको सिसाबाट ठाडो मुन्टो लगाएर हेरेको त संसार नै ढाक्ने गरी छाल आएको देखे,’ उनले भने । अब बाच्ने सम्भावना छैन भन्दै उनले पनि बसबाट हामफाल्ने निर्णय गरे ।
सिटबाट जुरुक्क उठेर माथिको डण्डी समाए । ढोका अगाडी झोलाको चाङ थियो । नाँघेर निस्कन खोज्दा सँगै सिटमा रहेकी श्रीमतीले हाम नफाल्नु भन्दै उनको हात समाइन् । त्यतिबेला बसबाट हाम फाल्ने वाहेक उनको मनले अरु केही सोच्न सकेन । श्रीमतीबाट जसोतसो हात फुत्काएर उनी गुडीरहेको बसबाट हाम फाले । उनी हाम फाले लगतै स्टाट बन्द भएर बस रोकियो ।
त्यही बेला पहिलो छालले बसलाई हान्यो । लेदोसहित आएको उक्त छालले भाग्दै गरेका बद्रीलाई नालामा पछा¥यो । केही सेकेण्ड छाल रोकियो । त्यही मौका छोपेर बद्रीप्रसाद उठेर भागे । केही पर एउटा सानो रुखको हाँगा समाएर बसे । ‘भाई तुलाराम पनि त्यही रुखको बुटा समातेर बसेको रहेछ, हामी दुई भाई त्यही बुटामा झुण्डिएर बस्यौ ।’
हेर्दा हेर्दै बसलाई छालले बगायो । कता पु¥यायो उनीहरुले अत्तोपत्तो पाएनन् । ‘हामीले हेर्दा हेर्दै बस सलल बगाएर लगिहाल्यो, चुर्लुम्म डुवेको थियो बस निस्कदै निस्केन । श्रीमती पनि त्यही छे, अरु पनि छन्, माया लागेको छ तर केही गर्न सक्ने अवस्था रहेन,’ बद्रीप्रसादले भक्कानिदै भने ।
सुरक्षित स्थानका लागि उनीहरु भौतारिन थाले । केही माथि पुगेपछि सँगै यात्रामा रहेका रविन्द्र देवकोटा र पार्वती न्यौपानेलाई भेटे । ‘उनीहरुलाई पानीको छालले फालिदिएको रहेछ, शरिरभरी हिलो लागेर मुढाजस्तो भएर आए,’ बद्रीले भने । भागेर ज्यान बचाएका सहचालक पनि त्यही आइपुगे । भेटेपछि उनीहरु रुन थाले । एक अर्कालाई सम्झाउँदै केहीवेर त्यही रोकिए । त्यो बेलासम्म बाढी रोकिएको थिएन । माथिबाट डाँडा नै खस्ने गरी आवाजमा बाढी आइरहेको थियो ।
दुई घण्टासम्म उनीहरु त्यही रहे । उद्धारका लागि कुरिरहे तर, कोही आएनन् । सभा दुई घण्टापछि भेल सकिएर त्रिशुली नदी यथास्थानमा बग्न थाल्यो तव एउटा हेलिकप्टर आकाशमा देखे । तर उनीहरुको उद्धार भएन । ‘नदी पारि घरका छतबाट मानिसहरु बचाउ भन्दै हात उठाइरहेका थिए,’ बद्रीले भने, ‘हेर्दाहेदै भेलले घरसहित उनीहरुलाइ पनि बगायो ।’
उद्दार नभएपछि उनीहरु आफ्नो सुरले अघि बढे । हिलेखर्क पूग्ने बेला उनीहरुको अवस्था दयनिय भयो । त्यहाँ एक कप चिया र बिस्कृट पाए । तर कसले दियो थाहा पाएनन् । त्यहाँबाट गाडीमा चढाएर उनीहरुलाई सुर्यगढी गाउँपालिका लगियो । भाग्ने क्रममा घाइते भएका उनीहरुको प्राथमिक उपचार गरियो । हेटौडा कुलेखानी हुदै काठमाडौ पु¥याइयो ।
बसबाट हाम फालेर ज्यान जोगाएका तुलारामले उद्धारमा राज्य चुकेको भन्दै आक्रोश व्यक्त गरे । सरकारले समयमै सूचना प्रवाह नगर्दा ठुलो क्षति व्यहोर्नुपरेको उनको गुनासो छ । ‘सूचना पाएलगतै त्रिशुली नाकामा गाडीहरु रोकेको भए यत्रो क्षति हुने हुन्थेन होला, आज लाशको थुप्रा देख्न पर्थेन होला,’ उनले भने ।
आफू बचेपनि सँगै गएका श्रीमती र अरुलाई बचाउन नसकेको भन्दै उनी भावुक बने । ‘म बाँचेपनि बुढी बिति, समाज बित्यो,’ भक्कानिदै उनले भने, ‘म गएपछि सुरक्षित हुन्छ भनेर भाउजु बुहारी पठाउनुभयो तर मैले बचाउन सकिन ।’ पानीले गाडीलाई छोएपछि मात्र बाढी आएको थाहा पाएको उनले बताए ।
पालुङटारबाट तिर्थयात्राका लागि गोसाइकुण्ड जादै गरेको उक्त बसमा चालक र सहचालकसहित एकै गाउँका ३६ जना सवार थिए । जसमध्ये ६ जना हाम फालेर ज्यान जोगाउन सफल भए । सम्पर्कविहीन ३० जनामध्ये पाँच जनाको शव फेला परेको छ । बाँकीको खोजी कार्य जारी छ । उक्त घटनाले गाउँ अहिले शोकमा डुवेको छ ।




