
ग्यासमा कालोबजारी गर्ने व्यापारीलाई तीन लाख जरिवाना
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने बसपार्कस्थित गणेश भाडा पसललाई तीन लाख जरिवाना तोकिएको छ । अनुचित व्यवसायिक क्रियाकलाप गरेको भन्दै प्रशासनले कारवाही स्वरुप जरिवाना तोकेको हो । उक्त रकम तिर्न सात दिनको अल्टिमेटम दिइएको छ ।
अनुगमन समितिको प्रतिवेदन, स्थलगत मुचुल्का र सम्वद्ध कानूनको आधारमा कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकृत नेत्रप्रसाद शर्माले बताए । ‘उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गर्ने निर्णय भयो,’ उनले भने, ‘उक्त ऐनमा बढीमा तीन लाखसम्म जरिवाना गर्न पाउने व्यवस्था छ ।’ ठगिएका उपभोक्तालाई पूरा तौल भएको ग्यास उपलब्ध गराउन पनि भनिएका उनले जानकारी दिए ।
उनका अनुसार व्यवसाय स्थलमा आवश्यक सुरक्षा मापदण्डसहित सिसिटिभि जडान गर्न निर्देश गरिएको छ । कारवाही चित्त नबुझे पुनरावेदन गर्न पाउने उनले बताए । ‘हामीले गरेको कारवाही चित्त नबुझे उहाँले पुनरावेदन गर्न पाउनुहुन्छ, त्यसका लागि हामीले तोकेको जरिवाना रकमको ५० प्रतिशत अर्थात डेढ लाख रकम धरौटी राख्नुपर्छ,’ उनले भने ।
सिल गरिएको सिलिण्डरबाट ग्यास चोरेर बिक्री वितरण गरेको भन्ने उपभोक्ताको गुनासो पश्चात उक्त सप्लायर्सको बाह्रकिलोस्थित गोदाम अनुगमन भएको थियो । अनुगमनको क्रममा ग्यास चोरेर बिक्री गर्ने गरेको खुलेपछि कारवाही प्रक्रिया अघि बढाइएको हो । ‘एउटा सिलिण्डरबाट कम्तिमा चार केजी ग्यास चोर्ने गरेको पाइयो, ग्यास चोर्न प्रयोग हुने धातुको सुइरो समेत हामीले त्यहाँबाट बरामद गरेका थियौ,’ शर्माले भने ।




