| बिहिबार, भदौ १७, २०८३

त्रिशुली कटानले रागिनासका १६ घर जोखिममा

त्रिशुली बाढीले तानेर गोरखाको सहिद लखन गाउँपालिका ४ रागिनास बजार जोखिममा परेको छ । हालै अत्याधिक ठूलो बाढी आएर त्यहाँका १६ घर उच्च जोखिममा रहेको स्थानीय कृष्ण चेपाङले जानकारी दिए ।

उनका अनुसार मनमाया राना र माया थापाको घरसम्मै पहिरो पुगेको छ । त्यस्तै चमेली थापा(गगन थापा), जानकी थापा, विश्व थापा र उनी आफ्नै घर पनि त्रिशुली पहिरोको उच्च जोखिममा छ । ‘मेरोसहित सबै गरेर १३ घर पहिरोको उच्च जोखिममा छ’, चेपाङले भने, ‘१४ घरचाहिँ जोखिममा छन् । केही दिनअघिको ठूलो बाढीका बेलामा हामी घर छोडेर स्कूल बास बसेका हौँ ।’

रागिनास, करनटार, ढोडेनी र सिलिङ गरी ३० भन्दा धेरै घरधुरी त्रिशुली कटानबाट जोखिममा परेको गाउँपालिकाका अध्यक्ष रमेश थापाले बताए । ‘वडा नं. ३ र ४ का ३० भन्दा धेरै घर जोखिममा छन् । १३ घर उच्च जोखिममा छन्’, उनले भने, ‘त्रिशुलीले तानेको पहिरोले मनमाया र मायाको घर त चर्काइसकेको छ ।’ उनीहरु सुरक्षित स्थलतर्फ बसोबास गर्न गएको उनको भनाइ छ ।

त्यहाँको समस्या समाधान आफ्नो काबु बाहिर रहेको गाउँपालिकाले जनाएको छ । ‘त्रिशुली कटान समाधान गर्न पालिकाले सक्दैन’, उनले भने, ‘यस्तो जोखिममा रहेर पनि अहिले सरकारले विपद संकटग्रस्त स्थानीय तहमा सरकारले हामीलाई समेटेन ।’ त्रिशुलीले सिलिङटारको पुल बगाएको, यहाँका धेरै जग्गा जमिन कटान गरेको तथा बस्ती जोखिममा रहेर पनि संकटग्रस्त क्षेत्रमा नसमेटेको भन्दै उनले दुख व्यक्त गरे ।

त्रिशुली कटानले सोही गाउँपालिका वडा नं. ३ सिलिङको दुई घर पनि जोखिममा परेको छ । स्थानीय सुब्बाकुमार श्रेष्ठ र कुलबहादुर थापाको घर जोखिममा रहेको वडा अध्यक्ष दीपक पाण्डेले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्